१. विदेश जानेहरु सबै रहरले जाँदैनन् । सम्पन्न हुनका लागि पैसा ल्याउन मात्र पनि जाँदैनन् । अझ खाडि मुलुकहरुमा जानेहरु त श्रम बेच्नै भनेर गएका हुन् । अमेरिका, बेलायत (युके), अष्ट्रेलिया, जापान, क्यानडा लगायतका युरोपेली देशमा जानेहरु र खाडि राष्ट्रहरुमा जानेहरुलाई एकै टोकरीमा राखेर हेर्न मिल्दैन । भारतसहित साउदी अरब, दुबई, कतार, मलेसियामा जानेहरु जीवनयापनका सवालसँग मात्र जोडिएका छन् भन्न सकिन्छ । नेपालको पश्चिम पहाडबाट खान लाउनै समस्या भएर बाध्यताबस मजदूरीका लागि भारत पस्नेहरुको संख्या उल्लेखनीय रहेको भेटिन्छ । त्यस्तै परिवारमा विरामी परेकाको उपचार खर्च जोहो गर्न र छोराछोरीहरुको पढाईका लागि रकम जुटाउन खाडी मुलुक जानेहरु अधिक भेटिन्छन् ।

यहाँ जुन जोगी आएपनि कानै चिरिएका मात्र सावित भएका छन् । बोल्ने एउटा, गर्ने अर्कै परम्परा चल्दै आएको वर्षौं बितेको छ । नागरिकका लागि सरकारको अनुभूती कहिल्यै भएन । चाडपर्व मनाउँदा, बासका लागि कामचलाउ घर बनाउँदा, लत्ताकपडा सहित घरखर्च चलाउँदा, रोग लाग्दाको उपचार गर्दा लिएको ऋण तिर्नका लागि बिदेशिनु पर्ने बाध्यता बोकेका नेपालीहरुको पीडा कहालीलाग्दो सुनिन्छ । धेरै लेखकहरुले बिदेशिएकाहरुको कथाका थुप्रै किताबहरु लेख्नु भएको छ । अझ कैयौं लेख्न बाँकी हुन सक्छ । अझ अनगिन्ती पीडादायक कथाहरु बहिर आउनै बाँकी हुन सक्छ । भित्रभित्रै पिल्सिएर जीवन गुमाउनेहरुका गाथा भग्नावशेषहरुमा पुरिइसकेका हुनसक्छन् । कतिपय त मरुभूमिका तातो बालुवा खोस्रेर भेटिएका अस्थिपञ्जरलाई नै किताबको शिर्षक बनाउने काममा व्यस्त हुन सक्छन् । सबै कथाहरु महल र महल भित्रका मात्र हुँदैनन् ।

२. सन्दर्भलाई होम कार्कीको ‘सनैया’ सँग जोड्न खोजिएको छ । सनैया एक पटक पढ्नै पर्ने किताब भन्नै पर्दछ । यो किताब एक जिवन्त कहानी हो । दुबई, कतारका श्रमजीवी नेपालीहरुको वास्तविक चित्र समेटिएको सनैया मार्फत होम कार्कीले प्रवासबाट उच्च पहिचान बनाउन धेरै मिहिनेतका साथ करिब ८ वर्ष बिताएको देखिन्छ । प्रवासमै रहेर नेपाली मजदुरका पीडा, व्यथालाई समाचार बनाएका पत्रकार होमजीकै भनाई अनुसार खाडीका ५४० जना मजदूरहरुको अन्तरवार्ता पश्चात किताबको आकार बनेको रहेछ । सनैया भनेको औद्योगिक क्षेत्र रहेछ । जहाँ आप्रवासी कामदारहरु बस्ने चारकिल्ला बुझिन्छ । सनैयामा १८ शिर्षकहरु समेटिएका छन् । कान्तिपुर पब्लिकेशन्स अन्तर्गत प्रवासी पत्रकारकोरुपमा सन् २०१२ को जुलाई १५ का दिन दोहा विमानस्थलमा पाईला टेकेदेखिका श्रव्य–दृश्य अभिलेखहरुका आधारमा किताब तयार गरिएको होमजीले स्विकार्नु भएको छ ।

पुरानो दोहादेखि नयाँ दोहासम्म नामको शिर्षकबाट शुरु भई तस्बिराको काठमाडौं यात्रासम्ममा प्रवासका नेपाली कामदारहरुको पीडापूर्ण चित्रण पढिसक्दा होमजीको लेखकीय क्षमतालाई उक्त किताबले राम्रैसँग उजागर गरेको भन्नै पर्दछ । किताबमा उल्लेख गरिएका व्यक्तिहरुको तस्बिरहरु समेत राखेर किताबलाई थप विश्वसनीय बनाइएकोमा शंका छैन । किताबलाई पढ्ने र बुझ्ने आआफ्नै शैली र मौलिकता प्रत्येकमा निहित रहेको हुन्छ । यो आलेखलाई पनि सोहि कोणबाट समिक्षाको विषय बनाउने प्रयत्न भएको छ । खासगरी पहिलोमा विदेश जाने तयारी, दोश्रोमा विदेशमा रहेर काम गर्दाको अवस्था र तेश्रोमा फर्कँदाको स्थिति गरी किताबमा उल्लेखित चित्रणलाई तीन भागमा बाँडेर बुझ्न सकिन्छ ।

३. नेपाल सरकारले सन् १९८५ मा वैदेशिक रोजगार ऐन ल्याएपछि सन् १९८६ बाट मात्र नेपालीको कतार प्रवेश भएको उल्लेख गरिएको छ । दोहाको जैदा टावर मुनीको पार्क नै नेपाली कामदारहरुको संगमस्थलबाट यो किताब प्रारम्भ भएको छ । बिदाका दिन एकआपसमा देखभेट गर्ने क्रममा तीसौं वर्ष बिताएको अमीर, अब्दुल, करिम, सल्यानका शुकलाल खड्का, राजेन्द्र खड्का, इन्द्रबहादुर बुढाथोकी, टिकाराम बुढाथोकी, प्रेमबहादुर बिष्ट, कास्कीका निजामदिन मियाँ, स्याङ्जाका अमीर हम्जा, खोटाङ्घका रेगिस्तानी कवि तीर्थ संगम राई, जनकपुरका बिन्देश्वर ठाकुर, रेखा राई, चितवनकी सुस्मिता भुसाल, काठमाडौंकी अमिना खान, ईलामकी रेणुका कार्की, सन्जु सुन्दास, सिन्धुलीका वसन्त विश्वकर्मा, तनहुँका सोम बहादुर सुनुवार लगायतकाहरुको आपसी भेटघाटमा भएका कुराहरु मार्मिक रहेछन् ।

विदेश जाने बाध्यता पहिलो विन्दु हो । जाने भन्दैमा झोला भिरेर घरबाट यहिँकै बजार निस्केको जस्तो पक्कै सहज र सरल छैन । कालीकोटका राजेन्द्र शाहीले विदेश जाने क्रममा भोगेका हण्डर र ठक्करहरु साँच्चै मुटु खाने नै छन् भन्दा अत्युक्ति नहोला । ललित साह भनिने एजेण्टबाट भएका हर्कतहरुको शिकार बनेका राजेन्द्र शाहीको कथा अत्यन्त मार्मिक रहेको छ । बाध्य बनेर बिदेशिन लागेका व्यक्तिबाट सक्दो चुसेर र थकाएर, अधिकतम पीडा दिएरमात्र उडाउने बिचौलियाहरुको सञ्जालबाट कोहि पनि अलग हुनै सक्दैन । वडा देखिका सिफारिसका कागजात तयार गर्दैमा वर्षौं लाग्ने सरकारी प्रक्रिया र पाईलैपिच्छे तिर्नुपर्ने सेवा शुल्क अर्को पर्याप्त झन्झटको उदाहरण हुन् ।

४. बिचौलियाबाट गरिने करारपत्रको झेललाई होमजीले सनैयामा उजागर गर्दा तेह्रथुमका हर्कबहादुर लिम्बु, दमकका नबिन नेम्वाङ्घ, दिपक लिम्बु, कृष्ण कटुवाल, राजेश राई, गोर्खाका केदारप्रसाद लामिछाने, चितवनका अर्जुन तामाङ, पर्साका राजु कार्कीका भोगाई र हैरानी उदाहरणका रुपमा प्रस्तुत भएका छन् । कतारकै क्याम्पबोस नेपाली नै भएर पनि कामदारलाई सताउने क्रममा कति निर्दयी हुन्छन् भन्ने उदाहरण झापाका दिनेश यादव पर्याप्त छन् । जेल जस्तो, अट्ने भन्दा तीन गुणा बढी कामदार राखेर पशुतुल्य व्यवहार गरिने चित्रण मर्मस्पर्शी छन् । यहाँ भन्दा आकर्षक पारिश्रमिक देखाउने, कतार पुगेपछि अनेक बहाना बनाएर त्यहाँको करार काम छैन भन्ने, नेपाली राजदूताबास पनि विचौलियाहरुकै पृष्ठपोषण गर्ने जस्ता हर्कतहरु बाट निरिह र बाध्य बनाएर श्रम शोषण गर्ने स्थिति रहेछ । फर्कन पनि नदिने र अझ धेरै रकम लाग्ने भन्दै ठूलो रकम माग गर्ने कुरा त सामान्य रहेछ ।

सरकार नै बिचौलियाका प्रतिनिधि भएकाले यहाँका म्यानपावर कम्पनि भनिनेहरुबाट व्यापक शोषण भएको जगजाहेर छ । कतारमा काम गर्दाको अवस्थालाई जिन्दगीको मशानघाट र मान्छे फाल्ने मरुभूमिसँग तुलना गरिएको छ । सयलियाको ठूलो कम्पनि र त्यहाँका मजदूरको बसाई र काम गराइको दर्दनाक कहानी कहालीलाग्दो देखिन्छ । कम्पनी मालिक कफिल, कतार सरकार भन्दा शक्तिशाली देखिँदा रहेछन् । काम गर्दाको क्षणमा जीवन गुमाउनेका पीडा र मृतकको शव नेपाल ल्याउँदाको हैरानीका लागि धनुषाका जियाउलको मृत्यु हुँदा गिरिन्द्र महरको अनुभूति नै पर्याप्त जस्तो लाग्छ । नगन्य व्यक्तिहरुले मात्र सहज र सरल महसुस गरेको अधिकांशले कतारमा काम गरेर फर्कनु भनेको ठूलै युद्ध जितेजस्तो प्रतिक्रिया दिएका छन् ।

५. अन्तमा किताबको अधिकांश पेजहरु कतारका रहेर काम गरेका नेपालीहरुको मार्मिक कथाहरुले भरिएको छ । रियालमा झुण्डिएको जीवन र हररात ऐँठन हुन्छ नामका शिर्षक अन्तर्गत उल्लेख घटनाक्रम अत्यन्त कारुणिक भन्नै पर्दछ । कामका क्रममा घाईतेहरुको पीडा होमजीले कोमाको कष्टकर कथामा हमादको अस्पताल भित्र बाग्लुङ्घका विष्णुप्रसाद सुवेदी, गोर्खाका कालु गुरुङ्घ, रुकुमका मनोज केसी, झापाका श्रीबहादुर नेम्वाङ्घ, बाग्लुङ्घका गिरिबहादुर बिक, सुर्खेतका हरिबहादुर बस्नेत, बाराका खुमलाल हजाम, बुनीलाल प्रसाद कुर्मी, दाङका भक्तबहादुर रासकोटी लगायतकाको सूची लामो पढ्न सकिन्छ । पाईला पाईलामा काँडा शिर्षक आफैंमा बोलिरहेको छ ।

नीति, विधि, कानून र नियम भन्दा माथिका कतारी मालिकहरुले प्रदर्शन गरेको अत्यन्त अमानवीय हर्कतहरु भनेर नसिद्धिने खालका रहेछन् । स्याङ्घजाका राजकुमारको कथा भने अलि फरक लागे पनि अरु सबैको दिनचर्या र भोगाई उस्तै रहेको पाइन्छ । मान्छे किन्नेहरुको शहरमा काम गर्न जाँदादेखि काम गर्दाको असैह्य पीडा समेटिएको उक्त पुस्तकमा आमासँग बिछोडिनु पर्दाको पीडा र उतै जीवन गुमेकाहरु रातो बाकसमा फर्कदाको चित्रण साँच्चै हृदयविदारक छ नै । किताबमा समेटिएका कुराहरुको संक्षिप्त टिप्पणीका लागि पनि यस्ता आलेख लामो बन्न सक्छ । उल्लेखित कुराहरु राम्रैसँग अनुभूति गर्न त किताब नै गहिरिएर पढ्नुपर्ने हुन्छ । भन्न त, बिदेशिनेको यस्तै कहानी हुन्छ भनेर टार्न सजिलो होला । यस्ता कथा धेरैले लेखेका छन् भन्ने पनि भेट्न सकिन्छ । तर, भन्नु र लेख्नुमा निश्चय नै अन्तर हुन्छ नै । होमजीको यो प्रस्तुतीले खाडी क्षेत्रमा काम गर्ने नेपालीहरुको यथार्थ चित्रण भएको छ । अझै लेखकबाट, यस्तै रोचक र मार्मिक जीवन्त चित्रण उल्लेखित किताबहरुको अपेक्षा गर्दछु ।