हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा १९.२७ प्रतिशत आय गरेको छ भने व्ययतर्फ १३.५५ प्रतिशत खर्च गरेको छ । बुधबार सम्पन्न ७४औं कार्यपालिका बैठकमा प्रस्तुत गरिएको विवरणअनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को बुधबारसम्मको अवधिमा कुल अनुमान गरिएको आयतर्फ संघीय सरकारबाट प्राप्त अनुदान, प्रदेश सरकारबाट प्राप्त अनुदान र आन्तरिक श्रोत समेत गरी १९.२७ प्रतिशत अर्थात ५५ करोड ९० लाख ५१ हजार रुपैयाँ आम्दानी गरिएको र कुल अनुमान गरिएको व्ययतर्फ १३.५५ प्रतिशत अर्थात ३९ करोड ३२ लाख ६४ हजार रुपैयाँ खर्च भएको उपमहानगरले जनाएको छ ।
कार्यपालिका बैठकका निर्णयहरु सार्वजनिक गर्दै हेटौँडा उपमहानगरपालिकाको ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि–२०७५ को छैठौं संशोधन २०८२ स्वीकृत गर्ने निर्णय भएको छ । यस्तै हेटौँडा उपमहानगरले नगर बाल समितिमा बाल हेल्पलाइन मकवानपुरका प्रबन्धक झविन्द्र ज्ञवाली र माइती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामालाई मनोनित गर्ने निर्णय गरेको छ भने अपाङ्गतासम्बन्धी नगर समन्वय समितिको सदस्यमा महिला सदस्यमा सानुमाया नेपाली, हेटौँडा–५ स्थित बालज्योति माविका प्रधानाध्यापक भरत अर्याल र हेटौँडा अस्पतालका डा. हरी बहादुर खड्का र सीता मल्ल ठकुरीलाई सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ ।
कार्यपालिका बैठकले नदीजन्य पदार्थको विक्री गर्न बोलपत्र आह्वानको प्रक्रिया अगाडि बढाउने, उपमहानगरभित्र सञ्चालित बालुवा र क्रसर उद्योगहरुले नदीजन्य पदार्थको बक्यौता असुलीका लागि त्यस्ता क्रसर वा बालुवा उद्योगको चल, अचल सम्पत्ति रोक्का राख्नका लागि सरोकारवाला निकायमा पत्राचार गर्ने निर्णय पनि गरेको छ ।
फोहरमैला व्यवस्थापनका लागि न्यूनतम २५ लाख रुपैयाँ कायम गरी बोलपत्र आव्हान गर्ने, जेन जी आन्दोलनका क्रममा जलेर नष्ट भएका जिन्सी बस्तु लिलामीको प्रक्रिया अगाडि बढाउने, हेटौँडा–५ स्थित पुष्पाल स्मृति पार्क ब्रह्मकुमारी राजयोग केन्द्रलाई नै चालु आर्थिक वर्षसहित ५ वर्षका लागि व्यवस्थापनको जिम्मा दिने निर्णय भएको छ । जेन जी आन्दोलनको क्रममा हेटौँडा उपमहानगरपालिकाको कार्यालयमा भएको क्षतिको पुनर्निर्माणको लागत अनुमानको प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ । बजेट संशोधनको प्रक्रियाको विषयमा पनि बैठकमा छलफल भएको बताइएको छ । जेन जी आन्दोलनको क्रममा हेटौँडा उपमहानगरपालिका, उपमहानगर अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था लगायतका सेवा केन्द्रहरुमा तोडफोड र आगजनी भई उपमहानगरपालिकाको प्रशासनिक भवन, वडा कार्यालय, स्वास्थ्य संस्थाहरु तोडफोड तथा आगजनी गर्ने व्यक्तिहरुलाई प्राप्त÷उपलब्ध प्रमाण तथा भिडियोसहित सम्बन्धित निकायमा कारवाही गर्नका लागि सिफारिस गर्ने निर्णय भएको छ ।
यस्तै सहरी विकास तथा भवन कार्यालय मकवानपुरको पत्रानुसार हेटौँडा बजारको तीन ठाउँमा मौलिक पहिचानसहितको फाल्चा निर्माण गर्ने निर्णय भएको छ । हेटौँडा–५ अन्तर्गत कान्तिलोकपथको सानोपोखरादेखि क्याम्पाडाँडासम्मको उपयुक्त स्थान, हेटौँडा–६ चौघडाको उपयुक्त स्थान र हेटौँडा–७, नागस्वतीको उपयुक्त स्थानमा फाल्चा निर्माण गर्ने निर्णय भएको छ ।











