हेटौंडा : हेटौंडास्थित चुरेहिल अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील शाहमाथि भएको आक्रमणमा संलग्नलाई कारवाही गर्न चिकित्सक संघ मकवानपुरले माग गरेको छ । बुधबार साँझ ७ बजेतिर ड्युटीमा रहेका बखत डा. शाह माथी आक्रमण भएको थियो ।
नेपाल चिकित्सक संघ, मकवानपुर शाखाले बिहीबार एक प्रेस–विज्ञप्ति जारी गर्दै घटनाको घोर भत्र्सना गरेको छ । संघका अनुसार, डा. शाह आफ्नो नियमित ड्युटीमा रहेर बिरामीको उपचार तथा परामर्शमा संलग्न रहेका बेला बिरामीका आफन्तले अमानवीय व्यवहार देखाउँदै हातपात गरेका थिए ।
विज्ञप्तिमा घटनाको सीसीटीभी फुटेजमा पनि प्रस्ट प्रमाण देखिएको उल्लेख छ । संघले आक्रमणमा संलग्न व्यक्तिहरूलाई तुरुन्तै कानुनी दायरामा ल्याउन माग गरेको छ ।
‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९)’ बमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अगाडि बढाउन संघले सम्बन्धित निकायसँग माग गरेको हो । संघले दोषीमाथि शीघ्र र ठोस कारबाही नभएमा कडा आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।
संघका अध्यक्ष डा. हरि बहादुर खड्का र सचिव डा. राजु सेढाईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यदि दोषीमाथि शीघ्र र ठोस कारबाही नभएमा नेपाल चिकित्सक संघ, मकवानपुर शाखा बाध्य भएर आन्दोलनका कठोर कार्यक्रम घोषणा गर्ने र उक्त आन्दोलनबाट सर्वसाधारणमा पर्न जाने असरको जिम्मेवारी सम्बन्धित निकाय हुनेछ ।’











