परीक्षा स्थगित गरिएको सम्बन्धमा पदपूर्ति समितिले जारी गरेको सूचना ।

हेटौँडा : कर्मचारी पदपूर्तिको प्रक्रिया विवादमा परेपछि मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले अनियानकर्ता र मनोसामाजिक परामर्शकर्ताको लिखित परीक्षा स्थगित गरेको छ । अभियानकर्ताको परीक्षा कात्तिक २१ गते बिहान ११ बजे र मनोसामाजिक परामर्शकर्ताको परीक्षा कात्तिक २३ गते बिहान ११ बजेका लागि तय गरिएको थियो । बुधबार एक सूचना जारी गर्दै पदपूर्ति समितिले विशेष कारणले परीक्षा स्थगित गर्नुपरेको सूचना प्रकाशित गरेको छ ।

पदपूर्ति समितिका संयोजक रामबहादुर घलानले विषय विज्ञ उपलब्ध नहुने अवस्था देखिएपछि पूर्वनिर्धारित परीक्षा स्थगित गर्नुपरेको बताउनुभएको छ । यसअघि सोमबार जनस्वास्थ्य अधिकृतको परीक्षामा परीक्षा पदपूर्ति समितिले प्रमुख प्रशासकीय अधिकृत इन्जिनियर सुधन लामिछानेकी श्रीमति २८ दिने सुत्केरी प्रजिता भण्डारीलाई छनोट गरेपछि विवाद भएको थियो । सोमबार बिहान निर्धारित समयभन्दा ३० मिनेट ढिलो गरी परीक्षा सञ्चालन गरिएको, २८ दिनको सुत्केरीलाई छनोट गरेर काममा कसरी खटाउने भन्ने प्रश्नका साथै सफल उम्मेदवार प्रमुख प्रशासकीय अधिकृतकै श्रीमति हुनुले विवाद भएको हो ।

पदपूर्ति समितिमा अधिकारीका अनुसार प्रमुख प्रशासकीय अधिकृत लामिछाने आफैंले श्रीमतिलाई परीक्षामा सहभागी गराउनका लागि पदपूर्ति समितिको जिम्मेवारी शिक्षा शाखाका प्रमुख रामबहादुर घलानलाई दिनुभएको थियो । पदपूर्ति समितिले यसअघिको परीक्षाको नतीजाको कार्यान्वयन सम्बन्धित शाखाले गर्ने जनाएको छ । पदपूर्ति समितिका संयोजक घलानले भन्नुभयो, ‘जनस्वास्थ्य अधिकृत छनोट गर्ने निर्णय कार्यान्वयनको काम अब सम्बन्धित शाखाले गर्छ ।’

यता पालिकाको स्वास्थ्य शाखाका प्रमुख ध्रुवप्रसाद लामिछानेले भने पदपूर्ति समितिका संयोजक प्रमुख प्रशासकीय अधिकृत इन्जिनियर सुधन लामिछाने आकस्मिक कामले काठमाडौं जानु परेकोले कात्तिक २१ र २३ गतेको परीक्षा स्थगित गर्नुपरेको बताउनुभएको छ । ‘पदपूर्ति समितिका संयोजक समेत रहनुभएका प्रमुख प्रशासकीय अधिकृत सर आकस्मिक रुपमा काठमाडौं जानुपर्ने अवस्था भएपछि परीक्षा स्थगित गर्नु परेको हो’, स्वास्थ्य शाखाका प्रमुख लामिछानेले बताउनुभयो ।

जनस्वास्थ्य अधिकृतको परीक्षामा सफल प्रजिता भण्डारीले बुधबार सेवा करारका लागि सम्झौता गर्न निवेदन दिनुभएको स्वास्थ्य शाखा प्रमुख लामिछानेले जानकारी दिनुभयो । ‘सफल उम्मेदवारले करार सम्झौता गरिपाउँ भनी निवेदन दिनुभएको छ’, स्वास्थ्य शाखा प्रमुख लामिछानेले भन्नुभयो, ‘हामी उहाँसँग करार सम्झौता गरेर काममा लगाउँछौं ।’