हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिका–१० का पाँच वटा टोललाई पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमका बीच कोशीराङ–घट्टेचौर, कुमलटार, भाल्टार, सागिने र बाँझोखेत टोललाई वडा अध्यक्ष सूर्यबहादुर ब्लोनको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यमा घोषणा गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष मुक्तानले खानेपानी आम नागरिकको नैसर्गिक र मौलिक अधिकार रहेको बताउनुभयो । खानेपानीको कार्यक्रमहरुलाई दीगोपना दिन गाउँपालिकाले विभिन्न संस्थासँगको साझेदारीमा कामहरु गरिरहेको अध्यक्ष मुक्तानले बताउनुभयो । पानीको मुहान दर्ता गर्न आग्रह गर्नुहुँदै मुहानको बीमा कार्यक्रम गाउँपालिकाले ल्याएको उहाँको भनाइ थियो । खानेपानी शुद्धीकरण गर्न फिल्टर समेत वितरण गरिएको फिल्टरको मात्रै पानी प्रयोग गर्न उहाँले आग्रह गर्नुभएको छ । ३ हजारदेखि पैंतीस सय घरधुरीमा एक घर एक धारा निर्माण गरिने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले सरसफाईका सूचक र उपसुचकलाई पालना गर्न अनुरोध गर्नुभयो । प्रतिवद्धता अनुरुप काम गरिनुपर्ने बताउनुहुँदै खानेपानीको मुहानदेखि घरको धारासम्मका संरचना संरक्षण गर्नुपर्ने बताउनुभयो । फोहार पानी पिउँदा विभिन्न रोगव्याध लाग्ने वडाध्यक्ष सूर्यबहादुर ब्लोनले बताउनुभयो । उहाँले मुहानदेखि भान्सासम्म पानी सफा हुनका साथै घर, शौचालय, भान्सा, टोल समुदाय सफा राख्नु सबैको दायित्व रहेको बताउनुभयो ।
कार्यक्रममा ग्रामीण पुनर्र्निर्माण केन्द्र (आरआरएन) का जिल्ला संयोजक लीलबहादुर कार्कीले प्रदुषित पानीले ६० प्रतिशत रोग लाग्ने बताउनुभयो । जर्मन सरकारको डब्लुएचएचको सहयोगमा आरआरएनले गाउँपालिकासँग सहजीकरण गरी साझेदारीमा शुद्ध खानेपानी प्रयोग गरिनुपर्छ भनेर सुरक्षित पानी, सरसफाई अभियान सञ्चालन गरिएको हो । कार्यक्रममा कार्यपालिका सदस्य सुन्तली सुनुवार, वडा सदस्यद्वय जुनसरी राई र दिनेश कुमार थिङ, पूर्व वडा अध्यक्ष माणिकलाल मोक्तान, आधारभूत स्वास्थ्य केन्द्र भाल्टारका प्रमुख सन्तोषकुमार सिंहको पनि उपस्थिति रहेको थियो । कोशीराङ–घट्टेचौरटोलमा ३३ घरधुरी र कुमलटार, भाल्टार, सागिने र बाँझोखेत टोलमा ९५ घरधुरीमा एक घर एक धारा निर्माण भएका छन् । सागिने टोल भने वडा नम्बर ९ मा पर्दछ ।
















