हेटौँडा : शनिबार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका र बकैया गाउँपालिकामा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०६–००१ ज ०५२८ नम्बरको यात्रुवाहक भ्यान इन्द्रसरोवर गाउँपालिका–४, महालक्ष्मी खोला नजिक सडकबाट तल खसेर दुर्घटना भएको थियो । भ्यानमा सवार चालकसहित तीनै जनालाई उद्दार गरी उपचारका लागि काठमाडौं पठाइएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । घाइतेमध्ये रौतहट जिल्लाको परवाहा नगरपालिका–५ का २२ वर्षीय प्रवेश अन्सारी र २२ वर्षीय मुसाद आलमलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ भने अर्का एकजना घाइते सामान्य चोट देखिएको पुरुष आफैं उपचार गराउँछु भनी काठमाडौंतर्फ गएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै शनिबार नै बकैया गाउँपालिका–४, पाङ्दुरेमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई दुर्घटना भएको छ । मदन भण्डारी लोकमार्गमा पाङदुरेबाट हात्तीसुडेतर्फ जाँदै गरेको बा प्र ०२–०३८ प ८११४ नम्बरको मोटरसाइकलले सोही स्थान बस्ने ५५ वर्षीय बद्री गौतमलाई ठक्कर दिएको थियो । गौतमको टाउको, शरीरको विभिन्न भागमा र मोटरसाइकल चालक सोही स्थान बस्ने २५ वर्षीय फुर्साङ घलानको अनुहार, शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको थियो । मोटर साइकलमा पछाडि सवार १७ वर्षीय आकाश भोलनको वायाँ खुट्टामा सामान्य चोट लागेको थियो । घाइते तीनै जनालाई उपचारका लागि हेटौँडास्थित मकवानपुर सहकारी अस्पताल पठाइएको प्रहरी जनाएको छ ।

घाईते पैदलयात्री र मोटरसाइकल चालकलाई सामान्य उपचार पश्चात राती १ बजेर ५८ मिनेटको समयमा थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जानकारी दिएको छ । टाउकोमा चोट लागी गम्भीर घाईते भएका पैदलयात्रीको शल्यक्रिया गरी आइसीयुमा राखी उपचार भइरहेको छ । मोटरसाइकलमा सवार दुबै जनाले मादक पदार्थ सेवन गरेको प्रहरी जानकारी दिएको छ ।