हेटौँडा: हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको निमित्त प्रधानाध्यापकको जिम्मेवारी सूर्यप्रसाद घिमिरेलाई दिइएको छ । प्रधानाध्यापक माधवप्रसाद दहालको शुक्रबारदेखि उमेर हदका कारण अनिवार्य अवकाश भएपछि घिमिरेलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिइएको हो । घिमिरे मावि अंग्रेजी विषयका शिक्षक हुनुहुन्छ ।

मोरङ जिल्लाको उर्लाबारीका दहाल २०४८ जेठ ५ गतेदेखि माध्यमिक तहको गणित विषय शिक्षकको रुपमा भुटनदेवी माध्यमिक विद्यालयमा नियुक्त हुनुभएको थियो । घिमिरेलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएको विद्यालयले छिट्टै प्रधानाध्यापक नियुक्तिको प्रक्रिया अगाडि बढाउने जनाएको छ । विद्यालयका कर्मचारीमा बालकृष्ण दहालका अनुसार शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको निर्देशनअनुसार पालिकाले शिक्षा नियमावली २०५९ को परिच्छेद–१७, नियम–९३ को प्रधानाध्यापक सम्बन्धी व्यवस्था बमोजिम प्रधानाध्यापक नियुक्त गर्न भनेको छ । सोही बमोजिम नयाँ प्रधानाध्यापक नियुक्त हुने दहालले स्पष्ट पार्नुभयो ।

२०६७ कात्तिक ७ गतेदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भएका दहालको कार्यकालमा विद्यालयले उल्लेख्य प्रगति गरेको छ । २०७० सालदेखि साधारणतर्फ अंग्रेजी माध्यमसँगै प्राविधिक धारतर्फ पनि पठनपाठन सुरु गरेपछि विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण बढेको हो । दहाल प्रधानाध्यापक नियुक्त हुनुहुँदा ७ सयको हाराहारीमा विद्यार्थी थिए । अहिले १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा साधारण र प्राविधिक गरी २४ सय विद्यार्थी अध्ययनरत छन् ।

भुटनदेवी माध्यमिक विद्यालयमा ७२ जना शिक्षक, कर्मचारी कार्यरत छन् । भुटनदेवी माविमा १९ जना स्थायी, १२ जना करार सेवाका शिक्षक छन् भने निजी स्रोतका शिक्षक ३१ जना छन् । यस्तै १० जना कर्मचारी मध्ये १ जना स्थायी छन् भने अन्य अस्थायी र करारका छन् ।