जेनजी आन्दोलनका क्रममा जलेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको तस्वीर ।

हेटौँडा : भ्रष्टाचार र बेथितिविरुद्ध भन्दै देशव्यापी रुपमा भएको ‘जेनजी आन्दोलन’मा कार्यालय भवन जलेर ध्वस्त बनेपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा प्रवाहको काम प्रभावित बनेको छ । जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको केन्द्रीय कार्यालय ध्वस्त बनेको छ ।

शिक्षा, सेवा र अनुसन्धानको पाटोलाई एकमुष्ठमा अघि बढाउने प्रयत्न गर्दै आएको प्रतिष्ठानको कार्यालय भवन आन्दोलनका क्रममा जल्दा स्वास्थ्य सेवा प्रवाहको कामहरु प्रभावित भएका हुन् । जेनजी आन्दोलनको क्रममा भदौ २३ र २४ गते बागमती प्रदेशको राजधानी हेटौँडामा पनि तोर्डफोर्डबाट विध्वंस मच्चाउँदा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान समेत प्रभावित बनेको हो । आन्दोलनको आगोले प्रतिष्ठानको केन्द्रीय कार्यालय भवन र त्यहाँ रहेका जिन्सी तथा कागजातहरु खरानीमा परिणत भएको थियो । जेनजी आन्दोलनका क्रममा प्रतिष्ठानको ४ सवारी साधनसहित प्रशासनिक ब्लकको जिन्सी सामग्रीहरु जल्दा ६ करोड रुपैयाँ बढीको क्षती पुगेको थियो ।

आगजनीका कारण स्वास्थ्य सेवा विस्तारको लागि तयारी गरिएका विभिन्न विभागको टेण्डरको फाइलहरु जल्दा प्रतिष्ठानको काम ६ महिना पछि धकेलिएको छ । टेण्डरको अन्तिम तयारीमा रहेका एनआसियु, २०० शैया विस्तार, मर्चरी चेम्बर, डायलाइसिस लगायतका सेवा विस्तारको काम प्रभावित भएको हो । हेटौँडा अस्पतालमा सेवा गर्ने गरी प्रतिष्ठानले चालु आर्थिक वर्षमा उक्त सेवाका लागि टेण्डर प्रक्रिया थालेको थियो । तर, आन्दोलनमा कागजात जल्दा पुनः सुरुवातबाट सार्वजनिक खरिद ऐन अनुसारको प्रक्रिया गर्नुपर्ने बाध्यता देखिएको हो ।

यता शैक्षिक कार्यक्रम तर्फ हेटौँडा अस्पतालमा २०० शैया विस्तार गरेर एमविविएस कक्षा संचालनको तयारीमा रहेको प्रतिष्ठानको उक्त कार्य पनि प्रभावित भएको छ । शैया विस्तारका फाइलहरु जल्दा सो कार्यपनि केही समय पछि धकेलिएको हो भने कार्यालय भवनमा आगलागीबाट क्षती हुँदा स्मार्ट बोर्ड, कम्प्युटर, ल्यापटप लगायतका सामाग्री जल्दा अध्यापन कार्यमा समेत समास्य देखिएको हो ।

प्रतिष्ठानका रजिष्ट्रार भीमसागर गुरागाईंका अनुसार, आगजनीले कार्यालय भवन पूर्णरुपमा क्षतिग्रस्त मात्र नभइ प्रतिष्ठानको प्रशासनिक र स्वास्थ्य सेवा विस्तारको काममा समस्या पुगेको छ । आगजनीले प्रतिष्ठानको स्वास्थ्य सेवा विस्तारका महत्वपूर्ण योजनाहरुमा गम्भीर धक्का पुगेको उहाँले बताउनुभयो । हेटौंडा अस्पतालको प्रशासनिक कार्य पनि सोही भवनबाट सञ्चालन हुने भएकाले समस्या झनै जटिल बनेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षका लागि टेन्डरमा जाने तयारीमा रहेका सम्पूर्ण कागजातहरु जलेको उहाँले बताउनुभयो । हेटौंडा अस्पतालमा एलआसियु, पिआइसियु, डायलाइसिस र आइसियु बेड थप गर्ने जस्ता महत्वपूर्ण स्वास्थ्य सेवा विस्तारका योजनाका फाइलहरु खरानीको थुप्रोमा परिणत भएको उहाँले बताउनुभयो ।

आगजनीले भौतिक संरचना र योजनाहरू मात्र जलाएन, प्रतिष्ठानको इतिहास र भविष्यको आधार खरानी बनेको रजिष्ट्रार गुरागाईले बताए । उनका अनुसार, अडिटसँग सम्बन्धित पाँचदेखि दश वर्ष पुराना फाइलह, स्टोर म्यानेजमेन्टका भौतिक अभिलेखहरु, र स्थापनाकालदेखिका महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएका छन् । प्रतिष्ठानले हेटौंडा अस्पतालमा पिआइसियु सेवा, डायलाइसिसको १५ बेड, आइसियुको १५ बेड, मर्चरी चेम्बर थप गर्न डकुमेन्ट तयार पारेर अपलोड गर्न बाँकि रहेको अवस्थामा क्षती भएको उहाँले बताउनुभयो । आन्दोलपछि प्रयोगशालाका, मेडिसिनका टेन्डरहरुलाई अघि बढाउन निकै कठिन भइरहेको उहाँले बताउनुभयो ।

‘प्रतिष्ठानको प्रशासनिक अड्डा नै जलेर नष्ट भएको छ । अनलाइन र सफ्टवेयरमा भएका कुराहरु त जोगिए । तर नियमअनुसार भौतिक रुपमा राख्नुपर्ने सबै अभिलेखहरु गुम्यो । आर्थिक वर्षका लागि टेन्डर प्रक्रियामा रहेका सबै कागजातहरु, महत्वपूर्ण फाइलहरु, र अडिटसँग सम्बन्धित वर्षौं पुराना रेकर्डहरु सबै खरानी भएका छन् ।’ उहाँले भन्नुभयो, ‘हामीलाई एक स्टेपको होइन, धेरै ठूलो समस्या आइपरेको छ । हेटौँडा अस्पताल र हाम्रो प्रशासनिक कार्यालय एउटै थियो । त्यो जलेर नष्ट भयो ।’

आन्दोलनका क्रममा कार्यालयमा आगजनी भएको सार्वजनिक खरिद प्रक्रियाका लागि असोजभित्र सक्नुपर्ने कामहरु रोकिएका उहाँले बताउनुभयो । साउन, भदौ, असोजमा सक्नुपर्ने टेन्डर प्रक्रियाका फाइलहरु जलेपछि पत्रिकामा सूचना निकाल्ने र अनलाइनमा अपलोड गर्ने सबै तयारीका कामहरु पुनः गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । पुनः नयाँ खरिद प्रक्रिया अगाडि बढाउन असम्भव रहेकाले र सेवा विस्तारका लागि पुरानै आपूर्तिकर्ताहरुसँग पुरानै दरमा काम चलाउनुपर्ने बाध्यता आइपरेको उहाँको भनाई छ ।

आगजनीले प्रतिष्ठानको केन्द्रीय कार्यालय ध्वस्त पारे पनि शैक्षिक कार्यक्रमहरु भने तत्कालका लागि प्रभावित नभएको उहाँले बताउनुभयो । यद्यपि, प्रशासनिक केन्द्रविना शैक्षिक कार्यक्रमहरुको दीर्घकालीन सञ्चालन र व्यवस्थापनमा चुनौतीहरु रहेको उहाँको भनाई छ । विशेषगरी, चिकित्सा शिक्षा आयोगबाट अनुमति पाएको एमबिबिएस कार्यक्रम सञ्चालन गर्न प्रतिष्ठानलाई समस्या परेको उहाँले बताउनुभयो ।
‘हाम्रा कलेजहरु र प्रयोगशालाहरु फरक–फरक ठाउँमा भएकाले कक्षा र परीक्षा नियमित रुपमा चलिरहेका छन् । विद्यार्थीहरुको भर्ना, शुल्क र परीक्षासम्बन्धी डाटाहरु अनलाइन सफ्टवेयरमा सुरक्षित रहेकाले शैक्षिक अभिलेखमा क्षति पुगेको छैन । एमबिबिएस कक्षा सञ्चालनका लागि हामीलाई निकै गाह्रो भएको छ । हामीले दिनरात खटेर अस्पतालकै नयाँ भवनको दुई तलालाई एकेडेमिक ब्लकको रुपमा प्रयोग गर्ने विकल्प खोजिरहेका छौँ ।’ रजिष्ट्रार गुरागाईंले भन्नुभयो ।

अहिले प्रतिष्ठानको प्रशासन भग्नावशेषबाटै सेवा प्रवाहलाई निरन्तरता दिने प्रयासमा जुटेको उहाँको भनाई छ । तर, जलेका योजनाहरुको पुनर्निर्माण कसरी गर्ने विषयमा समस्या भइरहेको उहाँले बताउनुभयो । जेनजी आन्दोलनले उठाएका भ्रष्टाचार र बेथितिका मुद्दाहरू जायज भए पनि त्यसको आक्रोशमा एउटा महत्वपूर्ण स्वास्थ्य र शैक्षिक संस्थाको भविष्यलाई संकटमा पार्ने प्रयत्न भएको उहाँले बताउनुभयो । खरानीको थुप्रोबाट उठेर आफ्नो लयमा फर्किन मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप ३÷४ महिना लाग्ने उहाँले बताउनुभयो ।

‘हामीसँग अस्पतालको नयाँ भवनमा पाँच तल्ला भए पनि बजेट अभावले सबै चलाउन सक्ने अवस्था छैन । त्यसैले तीन तल्लामा बिरामीको सेवा र दुई तल्लामा कक्षा सञ्चालन गर्ने गरी व्यवस्थापन मिलाउँदैछौँ । हामीलाई पुन पुरानै अवस्थामा पुग्न ३÷४ महिना लाग्छ । कार्यालय भवनहरु मर्मत सम्भार गर्न निकै कठिनाइ देखिन्छ ।’ उहाँले भन्नुभयो ।