कोरोना भाइरस सङ्क्रमितको संख्या बढेसँगै मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको सबै क्षेत्र र मनहरी गाउँपालिकाको राजमार्गको ५ सय मिटर दायाँबायाँ क्षेत्रमा निषेधाज्ञा लागू गरिएको गरिएको छ । मकवानपुर जिल्लाका अन्य स्थानीय तहहरुमा पनि सङ्क्रमण देखिन थालेको छ । पछिल्लो समय मकवानपुरको पूर्वि क्षेत्र बकैया गाउँपालिकामा पनि ३ जनामा कोरोना पुष्टि भएसँगै जोखिम भएका टोलबस्तीहरु सिल गरिएको छ । यसै सन्दर्भमा रहेर बकैया गाउँपालिकाले कोरोना विरुद्ध लड्न के–कस्ता प्रयास गरिरहेको छ भन्ने विषयमा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालसँग समाज संवाददाता सुसन लामिछानेले गर्नुभएको कुराकानीः
समाजः बकैया गाउँपालिकामा कोरोना संक्रमणको अहिलेसम्मको अवस्था कस्तो छ ?
खनालः कोरोना भाइरसको सङ्क्रमण बकैयामा पनि बढेको छ । अहिले हामीकहाँ तीन जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । समग्रमा बकैयामा खतरा बढ्दै गएको अवस्था छ । क्वारेन्टिन पनि सञ्चालनमै छ । अहिले क्वारेन्टिनमा विदेशबाट आएका एक जना महिलासहित आठ पुरुषहरु बस्नुभएको छ ।
समाजः बकैया गाउँपालिकाले कोरोना भाइरस नियन्त्रणका लागि के कस्ता प्रयास गरिरहेको छ ?
खनालः मुख्यतः भौतिक दूरी कायम गर्ने र चेतनाकै कुरा हो । हामीले हरेक टोल बस्तीमा पुगेर सचेत रहन आग्रह गरेका छौं । माइकिङ गरिरहेका छौं । पर्चा हरेक स्थानमा टाँस गरेर सूचना प्रवाह गरेका छौं भने अप्ठेरो परेको स्थानमा टोल नै सिल पनि गरेका छौं । हामीले गर्नुपर्ने काम कुनै पनि बाँकी राखेको जस्तो लाग्दैन ।
समाजः कोरोना भाइरससँग लड्न बकैया गाउँपालिकामा स्वास्थ्यकर्मीसहित प्राविधिक जनशक्तिहरु पर्याप्त छन् त ?
खनालः अहिलेसम्म पर्याप्त छ । यहाँ भएकै स्वास्थ्यकर्मी, प्राविधिक, सुरक्षाकर्मी, रेडक्रसकर्मी र हामी जनप्रतिनिधीहरु सबैजना खटिएको हुनाले स्वास्थ्यकर्मी लगायतको अभाव अहिलेसम्म बकैयामा भएको छैन ।
समाजः बकैया गाउँपालिकमा निषेधाज्ञा नै गरिहाल्नुपर्ने अवस्था सिर्जना भएको छ कि छैन ?
खनालः निषेधाज्ञा गरिहाल्नुपर्ने अहिले देखिएको छैन । बकैया गाउँपालिकाको मुख्य वडा नम्बर ३ र ४ नम्बर जोखिम छ । ३ नम्बर वडामा हिजो शुक्रबारदेखि सबै पसल, डेरी, वडा कार्यालयलगायत बन्द भएका छन् । त्यहाँ निषेधाज्ञा जस्तै छ ।
समाजः हेटौंडामा आइसोलेसन वार्ड भरिएसँगै संङ्क्रमितलाई घरमै राख्नुपर्ने अवस्था आएको छ । बकैया गाउँपालिकाले आइसोलेसन वार्ड सञ्चालन गर्ने विषयमा के धारणा बनाएको छ ?
खनालः हामीसँग आइसोलेसन वार्ड छैन । संक्रमित भएका दुईजनालाई पनि हेटौंडा पठाउन सकेनौं । उनीहरुलाई अहिले होम आइसोलेसनमा सुरक्षितसाथ हामीले राखेका छौं । हामीले विद्यालयलयमा क्वारेन्टाइन सञ्चालन गरेका थियौं । क्वारेन्टाइनलाई विद्यालयहरुबाट हटाएर हात्तिसुडे र छतिवनको दुई स्वास्थ्य चौकिमा आइसोलेसन वार्ड सञ्चालन गर्ने हामीले आज बिहान निर्णय गरिसकेका छौं । यो निर्णय अब छिट्टै कार्यान्वयनमा आउँछ ।
समाजः बकैया गाउँपालिका अहिलेसम्म कोरोना नियन्त्रण तथा रोकथाम गर्न कत्तिको सफल भएको पाउनुभएको छ ?
खनालः हामी यसरी खटिदा पनि सङ्क्रमण देखिएको छ । दिन रात नभनी जनप्रतिनिधी लगायत नागरिकलाई सचेत गराउन लागीपरेका छौं । हेटौंडाको एउटा सहकारीमा कोरोना देखिएपछि त्यहाँ काम गर्ने एकजना महिला आफ्नो घर आईन । घरका थप २ जनामा पनि कोरोना देखियो । जति जनामा लागे पनि मुख्य विचार गर्नुपर्ने मान्छेले आपूm सचेत नहुँदा समस्या आउने गरेको छ । हामीले हिजो मात्रै ७३ जनाको स्वाबको नमूना संकलन गरेर परीक्षण गर्न हेटौंडा पठाएका छौं ।