हेटौँडा : भारतको सिक्किममा हुन लागेको १८ औं एलडी काजी स्मृति गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुन हेटौंडा फुटबल एकेडेमीलाई कोरियाबाट सहयोग प्राप्त भएको छ । सिक्किमस्थित सोरङ जिल्लाको चाकुगमा हुने प्रतियोगितामा सहभागिताका लागि ‘बी’ डिभिजनका खेलाडी अजय बरालले एकेडेमीलाई ३० हजार रुपैयाँ बराबरको २० सेट जर्सी र कट्टु सहयोग गरेको हेटौंडा फुटबल एकेडेमीका अध्यक्ष तथा प्रशिक्षक भीम लामाले जानकारी दिनुभयो ।
हेटौँडा–५ घर भएका बराल हाल कोरियामा बसोबास गर्दै आएका छन् । आज बिहीबारबाट सुरु हुने गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल कार्तिक २३ गते हुनेछ । प्रतियोगिताको उपाधि विजेता र उपविजेता टोलीले क्रमशः १० लाख र ५ लाख भारतीय रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरूका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा नेपालबाट हेटौंडा फुटबल एकेडेमी र झापा जिल्लाको झापा–११ को सहभागिता रहनेछ भने अन्य टोली भारतकै रहेका छन् । प्रतियोगितामा कुल १६ वटा टोली सहभागी हुनेछन् । हेटौंडा फुटबल एकेडेमीको टोलीले आइतबार आफ्नो पहिलो खेलमा नाम्ची जिल्लाको रेड पाण्डाको टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि हेटौंडा फुटबल एकेडेमीको टोलीले भारतमै भएको ७९ औं इन्डिपेन्डेन्ट डे फुटबल प्रतियोगितामा सहभागी भई उपाधि जितेको थियो । मुनसोङ खेल मैदानमा सम्पन्न भएको फाइनल खेलमा बरमेक क्लबलाई ४–१ गोलअन्तरले पराजित गर्दै हेटौंडा फुटबल एकेडेमीले उपाधि हात पारेको थियो ।
