अहिलेको नेपालको सन्दर्भमा नागरिक सुरक्षाको सवाल सबैभन्दा संवेदनशील र महत्वपूर्ण विषय बनेको देखिन्छ । कुनै पनि देशको स्थायित्व, विकास र जनताको सुख–शान्ति त्यहाँको कानून–व्यवस्था र सुरक्षाको स्थितिसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुने गर्दछ । नेपालमा पनि यही सन्दर्भमा प्रहरी संगठनले देशको शान्ति–सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पाईन्छ । नागरिकको जीवनको रक्षा, सम्मान र सम्पत्तिको सुरक्षा गर्नु प्रहरीको मूल दायित्व हो भने जनताको सहयोग र समर्थन प्राप्त गर्नु यसको मूल आधार हो । तसर्थ जनता र प्रहरी बीच सहयोगीभाव र विश्वासको सम्बन्ध रहनु आवश्यक देखिन्छ ।
नेपाल प्रहरीले विगत केही दशकयता जनताको सुरक्षाका लागि विविध कार्यक्रम सञ्चालन गर्दै आएको पाईन्छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम, बाल बिबाह न्यूनीकरण, लागुपदार्थको सेवन निरुत्साहित गर्न र ओसारपसारमा नियन्त्रण गर्न विद्यालयस्तरीय सचेतना, महिला तथा बालबालिकाको संरक्षण, साइबर अपराध नियन्त्रण, ट्राफिक सचेतना, विपद् व्यवस्थापन जस्ता कार्यक्रमहरूले प्रहरी र जनताबीचको सम्बन्धलाई उच्च स्थानमा पु¥याएको छ । यी कार्यक्रमहरूबाट जनतामा सामाजिक सुरक्षाप्रति सचेतना र आत्मविश्वास बढ्दै गएको पनि छ । विशेषगरी सामुदायिक प्रहरी साझेदारी कार्यक्रमले प्रहरी र स्थानीय समुदायबीच सिधा संवाद र सहकार्यको वातावरण सिर्जना गर्न सकेको छ । यसले अपराधको न्यूनीकरण मात्र नभई सामाजिक सद्भाव, नागरिक उत्तरदायित्व र आपसी विश्वास पनि सुदृढ र मजबुत हुँदै गएको पाईन्छ ।
तर पछिल्ला दिनहरूमा देशले केही असहज अवस्थाको सामना गरिरहेको छ । विभिन्न आन्दोलनहरू र राजनीतिक अस्थिरताका कारण सुरक्षाको स्थिति चुनौतीपूर्ण बन्दै गएको छ । हालैको जेन जी आन्दोलनका क्रममा भएको घुसपैठ, प्रहरीको हतियार लुटपाट, र जेलका कैदीहरू फरार भएको घटनाले मुलुकमा अपराध वृद्धि हुन सक्ने संकेत दिएको छ । यस्तो अवस्थामा जनतामा त्रास बढ्नु स्वाभाविक हो । राज्यका संवेदनशील अंगहरूमा आक्रमण हुनु र कानूनी निकायमा अविश्वास फैलिनु अत्यन्त गम्भीर विषय बन्न गएको छ ।
यस्ता विषम परिस्थितिमा प्रहरीको मनोबल उच्च राख्नु अत्यावश्यक हुन्छ । जब प्रहरीको मनोबल कमजोर हुन्छ, तब अपराधीहरू सल्वलाउँदै बलिया हुन सक्दछन् । जसले गर्दा जनताको सुरक्षा भावनामा आघात पुग्न जानेछ । त्यसैले, प्रहरीप्रति जनताको समर्थन र विश्वास पुनस्र्थापित गर्न नागरिक समाजले पनि सक्रिय भूमिका खेल्न सक्नु पर्दछ । प्रहरी मात्र होइन, समुदाय स्वयम् पनि सुरक्षाको जिम्मेवार अंंग हो । जब प्रहरी र जनता एउटै लक्ष्यका साथ अघि बढ्छन्, तब मात्र शान्ति, सुरक्षा र सुशासन सम्भव हुन सक्दछ ।
प्रहरीलाई आज लोकतान्त्रिक मूल्य र आचरणसहित आफ्नो दायित्व पूरा गर्न प्रेरित गरिनु पर्दछ । लोकतान्त्रिक प्रहरीको अर्थ केवल आदेश पालना गर्ने निकाय मात्र नभई जनताको अधिकार, स्वतन्त्रता र सम्मानको रक्षक हो भन्ने अनुभुति हुनु हो । प्रहरीको शक्ति कानूनी दायराभित्र सीमित हुनुपर्छ, तर उसको जिम्मेवारी जनताको पक्षमा असीमित हुनु पर्दछ । प्रहरीको व्यवहारमै जनमैत्री भाव झल्किँदै जनताको समस्या बुझ्ने, समाधानमा सहयोग गर्ने, र निष्पक्षता कायम राख्ने समेत हुनु पर्दछ ।
अहिलेका केही घटनाले प्रहरीमाथि आरोप र आलोचना बढाएको पाईन्छ । कतिपय घटनामा अत्यधिक बल प्रयोग, दुव्र्यवहार, वा राजनीतिक प्रभावका कारण जनतामा असन्तोष देखिएको पनि छ । तर प्रहरीले यी सबै आरोपहरू व्यवहार र पारदर्शिताबाट आफुलाई चोख्याउन सक्नु पर्दछ । जब प्रहरी निष्पक्ष, सेवामुखी र मानवता केन्द्रित हुन्छ, तब जनता पनि उसको साथमा उभिने गर्दछन् । प्रहरीले आफ्नो सपथ स्मरण गर्दै राष्ट्र र जनताको हितमा काम गर्न सके भने जनताको विश्वास स्वतः पुनःस्थापित हुनेछ भन्नेमा सन्देह गरिरहनु पर्दैन ।
यस्तो परिस्थितिमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अत्यन्त उपयोगी सावित हुन सक्दछ । यसले स्थानीय समुदायलाई अपराध नियन्त्रणको साझेदार बनाउन मद्दत गर्दछ । जनताले प्रहरीलाई केवल नियन्त्रण गर्ने निकाय नभई सहयोगी मित्रको रूपमा हेर्न चाहन्छन् । यही दृष्टिकोणले प्रहरीलाई जनमैत्री बनाउँछ र लोकतान्त्रिक व्यवहारमा सक्षम बनाउँछ । अबको केहि समय अर्थात निर्वाचन नहुल्जेलसम्मको तरल अवस्थामा समुदाय र प्रहरीको सहकार्यमा टोल–टोलमा गस्ती गर्नुपर्ने हुन सक्दछ । यसका लागि सम्बन्धित टोल विकास संस्थाले अगुवाई लिनु पर्ने हुन सक्दछ । अपराध नियन्त्रणका लागि प्रहरी मात्र पर्याप्त हुँदैन । जब नागरिकले आफ्नो कर्तव्य पूरा गर्छन्, जब समाजले गलत कार्यलाई अस्वीकार गर्छ, तब नै अपराधको जरामा प्रहार हुनेछ । त्यसैले नागरिक समाज, समुदायमा आधारित संस्थाहरु, स्थानीय तह, शिक्षालय र मिडियाले पनि प्रहरीसँग सहकार्य गरेर शान्ति र सुशासनका अभियानमा हातेमालो गर्नु आजको आवश्यकता हो । नागरिक र प्रहरीबीचको सुमधुर सम्बन्धले राष्ट्रको स्थायित्वको आधार निर्माण गर्नेछ भन्ने कुराको हृदयंगम गर्नु पर्दछ ।
नेपाल अहिले संक्रमण र परिवर्तनको युगमा छ । देशमा व्याप्त भ्रष्टाचार, आर्थिक असमानता, युवाको विदेश पलायन, बेरोजगारी, वैदेशिक प्रभाव र सामाजिक विभाजनका कारण अपराधका स्वरूपहरू पनि बदलिँदै गएका छन् । साइबर अपराध, अनलाइन ठगी, मानव बेचबिखन, लागूपदार्थको ओसारपसार जस्ता नयाँ चुनौतीहरू प्रहरी सामु देखिएका छन् । यी समस्यासँग लड्न प्रहरीले प्रविधि, तालिम र अनुसन्धान क्षमतामा सुधार ल्याउनुपर्छ । यस कार्यमा सरकारले पनि प्रशस्त लगानी गर्नु पर्दछ ।
प्रहरीले संस्थागत रुपमा आन्तरिक सुधारमा ध्यान दिनुपर्ने देखिन्छ । पारदर्शिता, जवाफदेहिता र पेशागत आचरणमा सुधार ल्याई आत्मविश्वास र जनविश्वास दुवै बढाउन सकिने कार्य गर्दै जानु पर्दछ । प्रहरीको सफलता उसको बर्दीमा होइन, उसको सेवाभाव र न्यायप्रतिको प्रतिबद्धतामा निहित हुन्छ भन्ने भावना प्रहरीमा जाग्नु पर्दछ ।
प्रहरीप्रति नागरिकको पनि केही जिम्मेवारी र कर्तव्य हुने गर्दछ । नागरिकले संविधान, कानून नीति र नियमको पालन गर्दै अपराध र दुर्घटनाको जानकारी प्रहरीलाई दिनु पर्ने हुन्छ । यसैगरी प्रहरीको सम्मान गर्दै जनमैत्री सम्बन्ध कायम गर्नु, झूटो सूचना नफैलाउनु र सार्वजनिक सम्पत्तिको जगेर्ना गर्नु नागरिकको प्रमुख दायित्व हो । विध्वंस मच्चाएर जेलबाट भागेका कैदिबन्दी र प्रहरीको लुटिएको हतियारको बारेमा थाहा भएको सूचना दिनु नागरिकको कर्तव्य भित्र पर्दछ । कठिन परिस्थितिमा पनि प्रहरीको मनोबल उच्च राख्नु र सुधारका लागि सुझाव दिनु पनि नागरिकको नैतिक जिम्मेवारी भित्र पर्दछ । प्रहरी र नागरिकबीच आपसी विश्वास र सहकार्य हुँदा मात्र देशमा शान्ति, सुरक्षा, स्थायित्व र सुशासन कायम रहन्छ भन्ने हेक्का हुनु पर्दछ ।
अन्ततः अहिलेको विषम परिस्थितिमा प्रहरी र जनताबीच एकता र विश्वासको पुल निर्माण गर्नु समयको आवश्यकता र माग हो । राष्ट्र र राष्ट्रियता जोगाउने कार्य केवल राजनीतिक नेतृत्वको दायित्व मात्र होइन यो त हरेक नागरिक र सुरक्षाकर्मीको साझा जिम्मेवारी हो । अब प्रहरीले जनताको सुरक्षा गर्ने र जनता प्रहरीको मनोबल बढाउने सत्कार्य गर्नुपर्ने हुन्छ । यही सहकार्यबाट नै देशमा शान्ति, सुरक्षा, स्थायित्व र सुशासन कायम हुनेछ भन्नुमा अत्युक्ती नहोला । प्रहरी सुदृढ हुँदै लोकतान्त्रिक आचरण धारण गर्न सफल भयो भने, त्यो केवल सुरक्षाको दृष्टिले मात्र नभई राष्ट्रनिर्माणको जग दरिलो हुनेछ । प्रहरी जनमैत्री, पारदर्शी र उत्तरदायी बनेर आफ्नो सपथप्रति इमानदार र संवेदनशील रहेमा जनता सधैं प्रहरीको साथमा रहनेछन् । यही एकता र विश्वासबाटै सुरक्षित, शान्त र स्वाभिमानी नेपाल निर्माण हुने छ जसले राष्ट्र र राष्ट्रियताको जगेर्ना गर्ने छ । धन्यबाद ।
अध्यक्ष, बाल कल्याण समाज मकवानपुर
सदस्य, प्रदेश बाल अधिकार समिति, बागमती प्रदेश
















