
हेटौँडा : हाल अमेरिका रहनुभएकी हेटौँडा–११, नवलपुरकी प्रभा विडारीले जन्मदिनको अवसरमा हेटौँडा–११ स्थित मामाघर नेपालमा आश्रित बालकहरुलाई एक छाक खानासहित नगद र कपडा सहयोग गर्नुभएको छ । हेटौँडास्थित अभिभावकमार्फत प्रभाले बालकहरुलाई सहयोग गर्नुभएको हो ।
सोमबार प्रभाको जन्मदिनको अवसरमा उहाँका बुबा प्रवोध विडारीसहित परिवारका सदस्य मामाघर नेपाल पुगेर सहयोग सामग्री हस्तान्तरण गर्नुभएको हो । प्रभाले मामाघरमा आश्रित बालकहरुका लागि २३ थान ट्र्याक सुट, ५ हजार रुपैयाँ नगदसहित एक छाक खाना सहयोग गर्नुभएको हो ।
यसैगरी हेटौँडा–१ का दिनेश कुमार लामिछानेको परिवारले पनि छोरी दीक्षिता लामिछाने र भदैनी दित्या सुवेदीको गुन्यूचोलीको अवसरमा सोमबार नगद २५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । बेसाहारा अवस्थामा सडकमा कष्टकर एवम् जोखिमपूर्ण जीवनयापन गर्दै आएका बालकहरुको संरक्षण तथा परिवारमा पुनर्मिलन गराउने परिकल्पनासहित मामाघर नेपाल स्थापना गरिएको हो । अहिले मामाघर नेपालमा २४ जना बालकहरु आश्रित छन् । मामाघरमा रहेका २४ जना बालकहरु विद्यालयमा अध्ययनरत छन् । बालकहरु पूर्वप्राथमिक तहदेखि कक्षा १२ सम्म अध्ययनरत रहेको मामाघर नेपालका परिकल्पनाकार अर्पण पराजुलीले जानकारी दिनुभएको छ ।










