हेटौँडा : पहिलो संस्करणमै लोकप्रिय बनेको टि–२० क्रिकेट प्रतियोगिताको नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी टुर हेटौँडामा पनि सम्पन्न भएको छ । कात्तिक ४ गते हेटौँडामा एनपीएलको ट्रफी टुर गरिएको थियो ।
एनपीएलको प्रवद्र्धन गर्ने, मकवानपुरका क्रिकेटप्रेमीको सम्मान र उत्साह बढाउने उद्देश्यले ट्रफी टुरको आयोजना गरिएको मकवानपुर जिल्ला क्रिकेट संघका सचिव विनोद कुमार बानियाँले जानकारी दिनुभयो । नेपाल क्रिकेट संघ बागमती प्रदेश समितिका उपाध्यक्ष प्रेम क्षेत्री र सदस्य संजोग पोखरेलको संयोजनमा हेटौँडामा ट्रफी टुर गरिएको बानियाँले बताउनुभयो ।

चितवनबाट हेटौँडा ल्याइएको ट्रफीलाई हेटौँडाको राप्तीपुलबाट भुटनदेवी मन्दिर पुर्याइएको थियो । भुटनदेवी मन्दिरको दर्शनपछि ट्रफी हेटौँडा औद्योगिक क्षेत्र, कमाने, गौरिटार रंगशालामा निर्माणाधिन रंगशालामा पुर्याइएको थियो । कमानेमा कमाने क्रिकेट क्लबको समन्वयमा क्रिकेटप्रेमीहरुले एनपीएल ट्रफीको अवलोकन तथा फोटो सेसन गरेका थिए । कमानेमा क्रिकेटप्रेमीको उत्साहजनक सहभागिता रहेको थियो ।
एनपीएल ट्रफीको हेटौँडा टुरमा मकवानपुरे क्रिकेटर चितवन राइनोजका बलर रिजन ढकालले ट्रफी बोक्नुभएको थियो । गौरिटार रंगशालाबाट बुद्धचोकमा ल्याएर करिब १ घण्टा सर्वसाधारणका लागि फोटो सेसन गरिएको थियो । एनपीएलको ट्रफी टुर अहिले पनि जारी छ । एनपीएल ट्रफीको हेटौँडा टुरपछि काठमाडौं लगिएको थियो भने अहिले एनपीएलको ट्रफी पोखरा पुर्याइएको सचिव बानियाँले बताउनुभयो । पहिलो संस्करणको एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो । दोस्रो संस्करणको एनपीएल आगामी मंसिर १ गतेबाट सुरु हुँदैछ ।










