Home अर्थ/व्यापार बाँदरले दुःख दिएपछि अदुवा खेती, बोटसहित किलोको ८० रुपैयाँमा बिक्री

बाँदरले दुःख दिएपछि अदुवा खेती, बोटसहित किलोको ८० रुपैयाँमा बिक्री

बोटसहितको अदुवा देखाउँदै किसान ।

हेटौँडाः अन्नबालीसहित अन्य बाली लगाउँदा बाँदरबाट जोगाउन गाह्रो भएपछि हेटौँडाका कृषकहरुले लगाएको अदुवा खेतीबाट राम्रो आम्दानीको अवसर सिर्जना गरेका छन् । अदुवाको बोटैसहित ८० रुपैयाँ किलोमा बिक्री भएपछि किसान दंग छन् । छठ पर्वका लागि हेटौँडा–६ का कृषकहरुले ८० रुपैयाँ किलोमा बोटसहितको अदुवा बिक्री गरेका हुन् ।

छठ पर्वमा बोट सहितको अदुवाको मुल्य राम्रो पाउँदा हेटौँडा–६ का किसानहरु हर्षित भएका छन् । बाँदरको आतंकले वर्षौंदेखि बाँझो रहेको जमिनमा लगाएको अदुवा बोटसहित बिक्री हुँदा उनीहरुले राम्रो आम्दानी गरेका हुन् । छठमा अदुवाको बोट (स्याउला) चढाउने परम्पराका कारण बोटसहितको अदुवाको माग बढेपछि हेटौँडा–६ का किसानहरुले ३ क्विन्टल अदुवा बेचेका हुन् । स्थानीय किसान युवराज तिमल्सिनाका अनुसार व्यापारीहरुले किसानको बारीबाटै प्रतिकिलो ८० रुपैयाँमा स्याउलासहितको अदुवा खरिद गरेका छन् । छठका लागि भनेर हेटौंडा, वीरगन्ज, कलैया लगायतका शहरबाट व्यापारीहरु सिधै किसानको बारीमा पुगेर अदुवा खरिद गरेको उहाँले बताउनुभयो । छठ पर्वका कारण सामान्य समयमा प्रतिकिलो ५०–६० रुपैयाँमा बिक्री हुने अदुवा अहिले ८० रुपैयाँमा बिक्री भएको उहाँले जानकारी दिनुभयो ।

‘अदुवाको बुढी (पुरानो गानो) बिक्रीबाट लगानी उठिसकेको थियो । अहिले बोटसहित राम्रो मुल्यमा बेच्दा मुनाफा भयो’, तिमल्सिनाले भन्नुभयो, ‘छठ पर्वका लागि मात्र मेरो सहितका अन्य कृषकहरुले ३ क्विन्टल अदुवाको बोटसहित बिक्री भयो । मेरो मात्र एक क्विन्टल जति बेचेँ ।’ हेटौँडाको उक्त क्षेत्र लामो समयदेखि बाँदरबाट कृषकहरु प्रभावित थियो । बाँदरले धान, मकै, कोदो जस्ता अन्नबाली नष्ट गर्न थालेपछि किसानहरुले वैकल्पिक खेतीको रुपमा अदुवा र बेसार रोजेका थिए । बाँदरको हैरानीले १० वर्षसम्म बारी बाँझै राखेकी किसान अन्जु ढकाल अहिले अदुवा र बेसारले आम्दानी राम्रो भएको बताउनुहुन्छ । अदुवा खेतीले किसानलाई आर्थिक राहत मात्र नभई बाँदरबाट बाली जोगाउने सुरक्षित विकल्प पनि प्रदान गरेको उहाँको भनाई छ ।

‘पहिले बाँदरले केही बाँकी राख्दैनथ्यो । अहिले अदुवा र बेसार लगाएपछि बोट राम्रो भएको छ र आम्दानी पनि राम्रो हुन थालेको छ । बारीमै व्यापारी पुग्ने, नगद हातमा पाइने र जोखिम कम हुने भएकाले किसानहरुको उत्साह बढेको छ’, उहाँले भन्नुभयो । उक्त कार्यमा कृषकहरुलाई प्रोत्साहन गर्न बागमती प्रदेश सरकार सशर्त अनुदानमा हेटौंडा उपमहानगरपालिका मार्फत नौलो बिहानी कृषि सहकारीलाई अदुवाको बीउ उपलब्ध गराएको थियो । उक्त सहकारीले कृषकहरुलाई बीउ वितरण गरेर खेती गरिएको तिमल्सिनाले बताउनुभयो । नौलो बिहानी कृषि सहकारीका अध्यक्ष विष्णु ढुंगानाका अनुसार ७६ जना किसानलाई मागका आधारमा करिब ५ हजार किलो अदुवाको बीउ वितरण गरिएको थियो । २९ जना किसानलाई ५०० किलो बेसारको बीउ उपलब्ध गराइएको उहाँले बताउनुभयो । कार्यक्रममा ५० प्रतिशत लगानी प्रदेश सरकार र बाँकी ५० प्रतिशत सहकारीको रहेको उहाँको भनाई छ ।

Exit mobile version