हेटौँडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा ग्यास बुलेटको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । सोमबार बिहान ९ बजेर २५ मिनेटको समयमा नारायणगढबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र २–०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको एनएल ०१ एन ०२८० नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा परी स्कुटरमा सवार केदारकी श्रीमति २८ वर्षीया सरस्वती श्रेष्ठको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । सरस्वतीको भरतपुरस्थित एलाईभ अस्पतालमा उपचार भइरहेको छ । स्कुटरमै सवार केदार र सरस्वतीका छोरा २ वर्षीय प्रविन श्रेष्ठ पनि घाइते भएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ग्यास बुलेट र ग्यास बुलेट चालक भारतको बिहार राज्यका ५५ वर्षीय मोहमद मतिन प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।
