हेटौँडाः सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वको आज सोमबार प्रमुख दिन हो । आज सोमबार साँझ अस्ताउँदो सूर्यको पुजा गरी छठ पर्व मनाइँदैछ । पारिवारिक सुख–समृद्धि र सन्तानको कल्याणको कामनासहित मनाइने यस पर्वअन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित जलाशय किनारमा अघ्र्य दिने चलन छ । हेटौँडा–१, राप्तीतटमा छठघाट निर्माण गरिएको छ ।
यसअघि पहिलो दिन शनिबार ‘नहाय–खाय’ मनाइएको थियो । पहिलो दिन ब्रतालुहरूले नदी वा पोखरीमा स्नान गरी अरवा–अर्बाइन भोजन ग्रहण गरेका थिए । दोस्रो दिन आइतबार खरनाअन्तर्गत साँझ ब्रतालुहरूले चामल, सक्खर र दूधबाट खीर बनाएर प्रसादस्वरूप ग्रहण गरेका छन् । अन्तिम दिन भोलि मंगलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्वको विधिवत् समापन हुनेछ । अन्तिम दिनलाई ‘पारन’ भनिन्छ ।
छठ पर्वमा बाँसको ढाकी, डगरी, माटोको कोसिया–कुरबार, हात्ती आदिसहितका सामग्री अर्पण गरिन्छ । त्यस्तै ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा, तरकारी, मिठाई तथा विभिन्न फलफूल प्रसादका रूपमा सूर्यदेवलाई अघ्र्य अर्पण गरिन्छ । अघ्र्य दिने ब्रतालुले ४८ घण्टासम्म अन्न र पानी त्यागेर व्रत बस्ने परम्परा छ, त्यसैले छठलाई निष्ठा र कठोर साधनाको पर्व मानिन्छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर चढाइएको सामग्री प्रसादका रूपमा ग्रहण र वितरण गरिने भएकाले यो पर्व सामाजिक सद्भाव र एकताको प्रतीकका रूपमा पनि लिइन्छ ।
