हेटौँडा : हेटौँडा–२, नगरपालिका रोडमा निर्माणाधीन अवस्थामा रहेको घरभित्र झगडा र कुटपिट हुँदा दुई जना घाइते भएका छन् । शुक्रबार राती १० बजेको समयमा निर्माण कार्य रोकिएको घरभित्र प्लास्टिकका भाँडा र बोतल संकलन गर्ने व्यक्तिहरूबीच झगडा भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
कुटपिटबाट मकवानपुरको बागमती गाउँपालिका–७ हिरामुनीका ६१ वर्षीय बिरबहादुर लोप्चन र सोही स्थानमा बस्दै आएका ३६ वर्षीय राजेन्द्र मगर घाइते भएका थिए । घाइते दुबैलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको छ । राजेन्द्रको अचेत अवस्थामा रहेको छ भने र बिरबहादुरको अवस्था मध्यम रहेको छ ।
कुटपिटमा संलग्न बारा जिल्ला निजगढ नगरपालिका–५ रतनपुर घर भई हाल हेटौंडा बजार बस्ने ४१ वर्षीय बिमल रुम्बा र हेटौँडा–२, बनसखण्डी घर भई हाल हेटौँडा बजार बस्ने ४६ वर्षीय मनोजकुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।











