हेटौँडा : हेटौँडामा छुट्टाछुट्टै स्थानमा शुक्रबार मोटरसाइकलको ठक्करबाट दुई जना बालक घाइते भएका छन् । हेटौँडा–५, शान्तिनगर चोकमा मोटरसाइकलले ठक्कर दिँदा एक बालक घाइते भएका छन् । शुक्रबार राती ७ बजेर २० मिनेटको समयमा भित्री सडकखण्डमा कर्राबाट क्यापाडाडातर्फ जाँदै गरेको प्रदेश ०३–००१ प ३०७२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा हेटौँडा–११, नवलपुर ७ वर्षीय सुकृत कँडेललाई बाटो काट्ने क्रममा ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । घाइते बालकको हेटौँडा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटि अस्पताल लगिएको छ । मोटरसाइकल चालक हेटौँडा–४, कर्राका १८ वर्षीय केल्भिन श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ ।
हेटौँडा–१३, वनस्पतिमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन् । शुक्रबार राती ८ बजेर ३० मिनेटको समयमा भित्री सडकखण्डमा वनस्पती अनुसन्धान केन्द्रबाट गुम्बाचोकतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००५ प ८४०३ नम्बरको मोटरसाइकलले बालकलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलको ठक्करबाट बाटोमा खेली रहेका ३ वर्षीय प्रनिश पाख्रिन घाइते भएका थिए । घाइते बालकको हेटौँडा अस्पतालमा उपचार भई रहेको छ । मोटरसाइकल चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ ।











