सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको चितवन जिल्लामा विभिन्न घटनामा चार जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–३, बेलचोकमा मानव सेवा आश्रममा अश्रीत एक पुरुषको मृत्यु भएको छ । गत मंगलबार बकुलहर हस्पिटलबाट उद्धार गरि आश्रममा राखिएको ४० वर्षीय जगत पौडेलको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । पौडेलको सोमबार बिहान ६ बजेर ३० मिनेटको समयमा आश्रममा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

भरतपुर महानगरपालिका–३, नगरवनस्थित नारायणी नदीको किनारमा एक जना पुरुषको मृत फेला परेका छन् । मृत फेला पर्नेमा तनहुँ जिल्ला देवघाट गाउँपालिका–५, का ३७ वर्षीय किसान गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । किसान बिहीबार बिहान ८ बजेको समयमा देवघाट त्रिशुलि नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । किसानलाई खोजतलास गर्दै जाँदा सोमबार दिउँसो १२ बजेर १५ मिनेटको समयमा नारायणी नदीको किनारमा मृत फेला परेको प्रहरीले जनाकारी दिएको छ ।

भरतपुर महानगरपालिका–१०, विमानस्थलनजिकै स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार बिहान २ बजेको समयमा बागमती प्रदेश ०६–००३ प ०६९२ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टँदा चालक भरतपुर–२१ का २५ वर्षीय सन्दीप घिमिरे र स्कुटर पछाडि सवार २८ वर्षीय कुशल अर्याल घाइते भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा दुबै जनाको टाउकोमा चोट लागी गम्भीर घाईते भएका थिए । उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा बिहान २ बजेर ३५ मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।