दशैं, तिहार र छठ लगातार आउने तीन ठूला पर्व हुन् । यस वर्षको दशैंपछिको ठूलो चाड तिहार सुरु भइसकेको छ । पाँच दिनसम्म मनाइने भएकाले तिहारलाई यमपञ्चक पनि भनिन्छ । रङ्गीचङ्गी फूल तथा बत्तीको झिलिमिलीले जताततै झकिझकाउ पारिने भएकाले तिहारलाई दीपावलीसमेत भन्ने गरिएको छ । यतिखेर सांस्कृतिक पर्व तिहारको रौनकले जताततै उत्साह छाएको छ । विशेषगरी दाजुभाइ–दिदीबहिनीको चाडको रुपमा लिने गरिएको तिहारमा प्रकृति, पशु–पन्छी, वनस्पति र मानवको बीचमा रहने आपसी सम्बन्धलाई पनि जोड्ने गरेको छ । तिहारमा धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा–आराधना गरिन्छ । काग, कुकुर, गाई, गोरुजस्ता मानिसका लागि उपयोगी जनावरको पूजा तिहारमा हुन्छ । तिहारकै समयमा नेपाल सम्बत् र नेवार समुदायको म्ह पूजाले छुट्टै महत्व पाउने गरेको छ । देउसी–भैलोको संस्कृति तिहारको अर्को मौलिक परम्परा बोकेको छ ।

धार्मिक, सांस्कृतिक र सामाजिक महत्वका नेपाली चाडपर्वहरुमा विभिन्न प्रकारका विकृतिजन्य क्रियाकलापले महत्व पाउने गरेको छ । तिहारमा पनि केही विकृति हाम्रो गाउँ, शहरमा देखिने गरेको छ । विशेषगरी तिहारको खुशीयाली मनाउन विभिन्न प्रकारका पटाका पड्काउने कार्यले पनि केही विकृति निम्त्याउने गरेको छ । नेपालमा पटाकालगायत विष्फोट पदार्थ उत्पादन, ओसारपसार, बेचबिखन तथा प्रयोग गर्न नपाइने अवस्थामा भारतबाट लुकाइछिपाइ ल्याइने पटाका, भुइँचम्पा, झिरझिरेजस्ता वस्तुमा ठूलो धनराशि विदेशिने गरेको छ । जथाभावी पटाका पड्काउँदा घाउचोट लाग्ने, आगजनी हुने, वातावरण प्रदूषण हुने गरेका छन् । अन्य चाडपर्वजस्तै तिहारमा पनि जथाभावी मदिरा सेवन गरेर होहल्ला गर्ने क्रम बढिरहेको छ । जुवा–तास, कौडा तथा अन्य खेलहरु खेल्नु पनि तिहारको विकृति बनेको छ । कतै–कतै देउसी, भैलो खेल्ने क्रममा पनि विकृतिजन्य क्रियाकलाप हुने गरेको पाइन्छ ।

तिहार विशेषतः नेपाली हिन्दूहरुको महत्वपूर्ण पर्व हो । हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार मनाएर यो पर्व सुरु हुन्छ । सन्देशबाहकको रुपमा कागको पूजा गरी मिठो परिकार खान दिएर काग तिहार मनाइन्छ । दोस्रो दिन यमराजको द्वारपाल मानेर कुकुरको पूजा गरी माला लगाएर मनपर्ने खाना दिएर कुकुर तिहार मनाइन्छ । तिहारको तेस्रो दिन लक्ष्मीपूजा र गाईतिहार मनाइन्छ । यसवर्ष कुकुर तिहार र लक्ष्मीपूजा आज सोमबार परेको छ भने बुधबार गाईगोरु तिहार र गोवद्र्धन पूजा परेको छ । बुधबारबाटै नेपाल सम्बत् ११४६ प्रारम्भ हुनेछ भने यसैदिन नेवार समुदायको म्ह पूजा रहेको छ । तिहारमा लक्ष्मीपूजा गरेपछि दिदीबहीनीहरु भैलो खेल्ने दाजुभाइहरुले देउसी खेल्ने चलन छ । कार्तिक शुक्ल पक्षको द्वितीया तिथिमा दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायूको कामना गर्दै सप्तरङ्गी भाइटीका लगाएपछि तिहार समापन हुन्छ ।

तिहार हाम्रो धार्मिक पर्वमात्र नभई प्रकृति पूजनसहितको सांस्कृतिक पर्व हो । तिहार मनाउनुको पछाडि सामाजिक तथा वैज्ञानिक कारणहरु पनि पाइन्छन् । तिहार सबैले उत्साह, उमङ्ग र खुशीसाथ रमाइलो गरी मनाउनुपर्छ । तिहारको नाममा कसैले पनि अनावश्यक तडकभडक नगरौं । बजारमा कालोबजारी नमौलाओस् । पटाकालगायत विष्फोटक पदार्थ पड्काएर आतङ्कित बनाउने काम कसैबाट नहोस् । रमाइलोको नाममा पैसा हारजीत हुनेगरी जुवा–तास नखेलौं । तिहारलाई मर्यादितरुपमा मनाउन सबै नेपाली जागरुक बनौं । सबै नेपालीले हर्षोल्लाससाथ तिहार पर्व मनाऔं । सबै नेपालीजनमा तिहारको हार्दिक मंगलमय शुभकामना ।