हेटौँडा : चितवन जिल्लाको राप्ती नगरपालिका–६, हर्दीमा मोटरसाइकलको ठक्करबाट घाइते भएका वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । गत शुक्रबार बिहान ५ बजेर ३० मिनेटको समयमा हर्दीस्थित पूर्व–पश्चिम राजमार्गमा भण्डारादेखि खुरखुरेतर्फ जाँदै गरेको साइकललाई सोही दिशातर्फ जाँदै गरेको म प्र ०३–०२६ प ७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
मोटरसाइकलको ठक्करबाट साईकल यात्री खैरहनी नगरपालिका–९, का ७५ वर्षीय रामेश्वर चौधरी, मोटरसाइकल चालक पर्सा जिल्ला विरगंज महानगरपालिका–१६, का २९ वर्षीय आयुष दुबे र पछाडी सवार ३५ वर्षीया प्रतिमा लामा घाइते भएका थिए । घाइते सबैलाई उपचारका लागि चितवनस्थित एलाईभ अस्पताल भरतपुर लगिएको थियो । साइकल यात्री चौधरीलाई बिहीबार साँझ ५ बजेर ४० मिनेटको समयमा आफन्तले आफुखुसी डिस्चार्ज गरी घर लगेकोमा सोहीदिन राती ११ बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल चालकको उपचार भई रहेको छ ।
