हेटौंडाः हेटौंडा–८, कमानेमा जारी ८ ‘ए’ साइड महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा आयोजक कमाने एकेडेमी र हेटौंडा फुटबल एकेडेमी भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनल खेलबाट फाइनलमा प्रवेश गरेको दुबै टोली आज शनिबार उपाधि उचाल्ने लक्ष्यका साथ मैदानमा उत्रिने भएका हुन् ।््
शुक्रबार भएको पहिलो सेमिफाइनलमा कमाने फुटबल एकेडेमीले रातोमाटे युथ क्लबलाई ४–० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । कमानेका वर्षा ओलीले ३ र सजिना स्याङ्तानले १ गोल गरेका थिए । यसैगरी, दोस्रो सेमिफाइनलमा हेटौंडा फुटबल एकेडेमीले चितवन जिल्लाको चितवनको एम्बास्डर्स फुटबल नेपाललाई २–० ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । हेटौंडाकी सुस्मिताले २ गोल गर्दै आफ्नो टिमलाई जिताउन सफल भएकी हुन् ।
प्रतियोगिताका उपाधि विजेता र उपविजेताले क्रमशः नगद ५० हजार र ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
