हेटौँडा : जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको आयोजना तथा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि (बागमती प्रोस्कून) को प्राविधिक सहयोगमा बागमती प्रदेश सरकारसँगको सहकार्य रहेको बागमती प्रोस्कूनको स्तरीकरण कार्यक्रम कोसिसमा आवद्ध बचत संघहरुको सार्थक एवम् प्रभावकारी सहयोग र नविनता व्यवस्थापन कार्यशाला सोमबार हेटौँडामा सम्पन्न भएको छ ।
जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेश सरकारको सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव खुविराम अधिकारीको प्रमुख आतिथ्यमा कार्यशाला सञ्चालन भएको थियो । कार्यशालामा बागमती प्रदेश सहकारी महाशाखा रजिष्ट्रार प्रदीप राज पौडेल, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि (बागमती प्रोस्कून) का अध्यक्ष उद्धव सापकोटा, वरिष्ठ उपाध्यक्ष जिवसराज खड्का लगायत विभिन्न संघहरुका अध्यक्ष, सञ्चालक पदाधिकारी, व्यवस्थापकहरु, बागमती प्रोस्कून सहित ११ वटा संघहरुको ४१ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहकारी महाशाखा प्रमुख रजिष्ट्रार पौडेलले पछिल्लो देशको घटनाक्रमले आन्दोलन र आगजनीबाट मन्त्रालयमा रहेका फाईलहरु नष्ट रहेकोले यसलाई अद्यावधिक गर्नका लागि सूचना जारी गरेको बताउनुहुँदै अहिलेको अवस्थामा संघ, संस्थाले यथासम्भव भएसम्म मन्त्रालयलाई सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा मन्त्रालयका सचिव अधिकारीले सहकारीको समस्या जटिल र गहिरो रहेको छ, यसका लागि हातेमालो गरी अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । मन्त्रालयले प्रदेश ऐन, नियमावली, निर्देशन तथा मापदण्ड संशोधनको तयारीमा रहेकोले केही समयपछि सार्वजनिक हुने उहाँले जानकारी दिनुभयो ।
बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले संघहरु आफु भित्र शुद्ध बन्दै बागमती प्रदेशभरीका बचत तथा ऋण सहकारी अभियानलाई समेत शुद्धीकरण गर्न सक्षम हुने विधी स्थापित गर्न कोसिस कार्यक्रममा आवद्ध भई सिकाई आदानप्रदान गरिएको बताउनु हुँदै संघहरुले साझा अभ्यासलाई सरलीकृत माध्यमबाट जिल्ला–जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरुमा पु¥याउनु पर्ने बताउनु भयो । बचत तथा ऋण सहकारी संघ मकवानपुरकी अध्यक्ष श्रेष्ठले अहिलेको अवस्था संघहरुले आफ्नो अस्तित्वका लागि संघर्ष गरिरहेको बताउनुहुँदै संघहरुको भूमिका र योगदानलाई नजरअन्दाज गर्दै अहिले प्राधिकरणले जारी गरेको निर्देशनमा संघहरुको अस्तित्व सरकारबाट नै मेटाउने प्रयास गरिरहेको बताउनुभयो । सबै संघहरुले विवरण अद्यावधिक गर्नका लागि पूर्ण रुपमा साथ सहयोग मन्त्रालयलाई रहने कुरा प्रतिवद्धता जनाउँदै प्रचलित सहकारी ऐन, २०७४ बमोजिम स्पष्ट कानुनमा संघको व्यवस्था भएको कुरा राख्नुभयो ।
बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले सहजीकरण गर्नु भएको कोसिस कार्यक्रम अन्तर्गत प्रत्येक तीन महिनामा ‘हामी सक्छौं कार्यशाला’ सञ्चालन गरी संस्थाका असल अभ्यास त्यस अवधिमा संस्थाले व्यहोर्नु परेको समस्या र तीन महिना भित्रमा सस्थाले गरेको सुधारको अवस्थाको सवालमा छलफल गर्दै आगामी कार्यशाला काभ्रेपलाञ्चोक जिल्ला बचत संघले आयोजना गर्ने निर्णय गर्दै सम्पन्न भएको थियो ।











