हेटौँडा : ८ ‘ए’ साइड महिला फुटबल प्रतियोगितामा आयोजक टिम कमाने फुटबल एकेडेमीले विजयी सुरुवात गरेको छ । बुधबार भएको उद्घाटन खेलमा कमाने फुटबल एकेडेमीको टिमले बारा जिल्लाको नवजनजागृति भेट्रान्स क्लबलाई ५–० को फराकिलो गोल अन्तरले हराएको हो । जितसँगै कमाने एकेडेमीले सेमीफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । नवजनजागृति भेट्रान्स क्लब प्रतियोगिताबाट बाहिरिएको छ ।
कमाने एकेडेमीका कप्तान प्रतीक्षा मल्ल ठकुरीले ह्याट्रिक र वर्षा ओलीले दुई गोल गरेका थिए । ह्याट्रिक गोलसँगै प्लेयर अफ द म्याच बनेकी कप्तान ठकुरीले नगद एक हजारसहित शिल्ड प्राप्त गरेकी छिन् । कमाने एकेडेमीका अध्यक्ष रमेश थापाको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्य थियो । कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष रामकृष्ण थापा, नगर खेलकुद समितिका सदस्य विजय गौतम, यज्ञबहादुर रायलगायतको आतिथ्य रहेको थियो ।
प्रतियोगिताको दोस्रो खेलमा बिहीबार समूह ‘ए’ मा रहेका हेटौंडाको रातोमाटे युथ क्लब र बकैयाको बकैया एफसी भिड्दैछन् । खेल बिहान ११ बजे सुरु हुनेछ । तेस्रो खेलमा समूह ‘बी’ मा रहेका चितवन जिल्लाको एम्बासडर्स फुटबल नेपाल र पर्सा जिल्लाको बीरगञ्ज स्पोट्र्स एकेडेमी भिड्दैछन् । बिहीबार नै अर्को खेल दिउँसो २ बजेदेखि समूह ‘बी’ मा रहेका हेटौंडा फुटबल एकेडेमी र चितवन जिल्लाको हेल्पफूल साइमन स्पोट्र्स क्लबबिच हुनेछ ।
प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले क्रमशः नगद ५० हजार र ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको अन्तिम खेल कात्तिक १ गते हुनेछ । खेल हेटौंडा–८, कमानेस्थित चन्द्रोदय माविको खेलमैदानमा भइरहेको छ ।
