हेटौँडा : जेनजी आन्दोलनले सिर्जना गरेको अनिश्चितता र चाडपर्वको मौसमी प्रभावको दोहोरो मारमा हेटौँडा औद्योगिक क्षेत्र परेको छ । आन्दोलनले उद्योगीहरुमा दीर्घकालीन लगानी गर्न डर पैदा गराएको देखिन्छ । दशैं–तिहारजस्ता चाडपर्वहरुले उत्पादन र बजारको माग दुवैमा सुस्तता ल्याएको छ । नतिजा, यहाँका अधिकांश उद्योगहरु हाल उत्पादन कटौति गरेर बसेको देखिन्छ । अधिकांश उद्योगहरुले साविकको उत्पादन क्षमतालाई घटाए ४० प्रतिशतको न्यून क्षमतामा सञ्चालन गर्न बाध्य देखिन्छन् ।
समग्र औद्योगिक वातावरणलाई नै निराशाजनक बनिरहेका अवस्थामा लगानी विस्तार गर्ने विषयमा द्विविधा उत्पन्न देखिएको उद्योगीहरुको भनाई छ । भविष्यको योजना बनाउने कि हालकै अवस्थामा चित्त बुझाउने भन्ने विषयमा हेटौंडा औद्योगिक क्षेत्रका उद्योगीहरु अन्योलको अवस्था देखिएको उनीहरु बताउँछन् । एकातिर जेनजी आन्दोलनले निम्त्याएको मनोवैज्ञानिक त्रास र बजारप्रतिको अविश्वास कायमै छ भने अर्कोतिर चाडपर्वले उत्पादन चक्रलाई आंशिक रुपमा मात्र चलायमान बनाएको छ । दोहोरो चेपुवाका कारण औद्योगिक क्षेत्रको उत्पादन क्षमतामा भारी गिरावट हुनुको साथै भविष्यको लगानी अनिश्चित देखिएको उनीहरु बताउँछन् ।
लगानीको सुरक्षा र स्थिर नीतिको अभावमा उद्योगीहरु हच्किँदा हेटौँडा औद्योगिक क्षेत्रको समग्र भविष्य नै चुनौतीपूर्ण देखिएको बताउँछन् । आन्दोलनले उत्पादन प्रणालीमा अवरोध, आपूर्ति शृंखलामा असर र लगानीकर्तामा त्रास बढाएको छ भने यसले समग्र औद्योगिक वातावरणलाई नै प्रभावित पारेको उद्योगीहरुको भनाइ छ । चाडपर्वको चहलपहलसँगै हेटौँडा औद्योगिक क्षेत्रका उद्योगहरुको उत्पादनमा पनि गिरावट आएकोले उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयकी प्रमुख संगीता कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार हाल उद्योगहरू १० देखि ४० प्रतिशत क्षमतामा मात्र चलिरहेका छन् र समग्रमा करिब ४० देखि ५० प्रतिशत उद्योग मात्र सञ्चालनमा रहेको अनुमान छ । यद्यपि उद्योगहरु पूर्ण रुपमा बन्द भने नरहेको उहाँले बताउनुभयो ।
आन्दोलनहरुको प्रत्यक्ष असर नदेखिए पनि केही अप्रत्यक्ष असर भने उद्योग क्षेत्रले भोगिरहेको कुँवरको भनाइ छ । चाडपर्वको समयमा बजारमा माग कम हुने र कामदार पनि बिदामा हुने हुँदा उत्पादन स्वतः घट्ने गरेको उहाँले स्पष्ट पार्नुभयो । हेटौँडा औद्योगिक क्षेत्रमा हाल १४३ उद्योग/प्रतिष्ठानहरु रहेका छन् । जसमध्ये १३० उद्योग सञ्चालनमा छन् र ११२ चालु अवस्थामा छन् । पछिल्लो समय केही नयाँ उद्योगहरु थपिनुका साथै बन्द भएका केही उद्योगहरू पुनः सञ्चालनको तयारीमा रहेको कार्यालयले जनाएको छ ।
उद्योग संघ मकवानपुरका निवर्तमान अध्यक्ष एवम् उद्योग परिसंघ बागमती प्रदेशका उपाध्यक्ष स्वागतराज प्याकुरेलले उद्योगीहरु तत्कालको सञ्चालनमा मात्र केन्द्रित भएको तर भविष्यको लगानी विस्तारमा सोच्न नसकेको बताउनुभयो । प्याकुरेलका अनुसार आन्दोलनले बजारमा पारेको मनोवैज्ञानिक असर र अन्योलका कारण समग्र आर्थिक गतिविधिमा सुस्तता आएको छ ।
आन्दोलनपछि उत्पादन कटौतिको अवस्था पनि देखिएको उहाँले बताउनुभयो । बजारमा उत्साह नहुँदा त्यसको प्रत्यक्ष असर उत्पादनमा परेको प्याकुरेल बताउनुहुन्छ । उहाँका अनुसार दैनिक उपभोग्य वस्तुको बजारमा समेत असर परेको छ । जहाँ ठूला रिटेल आउटलेटहरुले आफ्नो क्षमताभन्दा निकै कममा व्यवसाय सञ्चालन गरिरहेका छन् ।
‘अहिलेको सबैभन्दा ठूलो चुनौती भनेकै दीर्घकालीन रुपमा के हुन्छ भन्ने अन्योल हो ।’, प्याकुरेलले भन्नुभयो, ‘यसले गर्दा उद्योगीहरूले नयाँ योजनाहरू अगाडि बढाउन सकिरहेका छैनन् । हाल दसैँ–तिहारको चहलपहलले बजार केही चलायमान भए पनि उद्योगहरु नियमित सञ्चालनमा मात्र सीमित छन् । उत्पादनमा असर र बजारमा उत्साहको कमी भइरहेको छ । बजारमा उत्साह नदेखिएपछि उत्पादन घटाउनु स्वाभाविक हो । अघिल्लो आर्थिक वर्ष पनि उत्साहजनक नरहेको अवस्थामा यो आन्दोलनले थप खिन्नता छाएको छ ।’
सरकारले आन्दोलन प्रभावित उद्योगहरूका लागि राहत प्याकेज घोषणा गरे पनि त्यो प्रत्यक्ष रुपमा भौतिक क्षति बेहोरेका उद्योगहरूमा मात्र केन्द्रित रहेको प्याकुरेलको भनाइ छ । सरकारले जेनजी आन्दोलनबाट प्रभावित उद्योग, व्यापार तथा व्यावसायिक प्रतिष्ठानलाई कर छुट र सहुलियत दिने घोषणा गरेको उहाँले बताउनुभयो । सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्न ताकेता गरिरहँदा त्यसले समग्र उद्योगीलाई नै असर पारेको उहाँले बताउनुभयो । लोडसेडिङ अन्त्य भइसकेको अवस्थामा पनि पुरानै दरमा शुल्क असुल्न खोज्नु न्यायोचित नभएको उहाँको तर्क छ । उद्योगीहरुले अब बन्ने नयाँ सरकारसँग लगानीमैत्री वातावरण र सुरक्षाको पूर्ण प्रत्याभूति अपेक्षा गरेका प्याकुरेलको भनाई छ । सुरक्षाको प्रत्याभूति सरकारले गराउन नसकेसम्म नेपालमा लगानी बढ्नुको सट्टा भएकै लगानी फिर्ता हुने अवस्था आउने उहाँले स्पष्ट पार्नुभयो । उहाँले उद्योग क्षेत्रमा हुने अघोषित लोडसेडिङको अन्त्य, पूर्वाधार विकास र लगानीकर्ताको मनोबल बढाउने खालका नीतिहरु ल्याउनुपर्नेमा माग गर्नुभएको छ ।
‘प्रत्यक्ष आक्रमणमा परेका वा भौतिक क्षति भएका उद्योगलाई मात्र राहत दिने भन्ने बुझिएको छ । बाँकी उद्योगहरूले कुनै विशेष सुविधा पाएको जानकारी छैन’, प्याकुरेलले भन्नुभयो, ‘सरकारले औद्योगिक वातावरण निर्माण गर्न ठोस कदम चाल्नुपर्छ । उद्योग–व्यवसाय गर्ने सकारात्मक माहौल बनाउनुपर्यो । लगानीकर्ताको लगानीको सुरक्षा हुन्छ भन्ने विश्वास दिलाउन आवश्यक छ । शान्ति सुरक्षाको प्रत्याभूति व्यवहारमा देखिनुपर्छ ।’ जबसम्म सरकारले उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर ठोस नीतिगत व्यवस्था र त्यसको प्रभावकारी कार्यान्वयन गर्दैन, तबसम्म औद्योगिक क्षेत्रमा देखिएको अन्योल हट्ने र नयाँ लगानी आकर्षित हुने सम्भावना नरहेको उहाँको भनाई छ ।
