आयुर्वेदलाई संसारकै प्राचीन चिकित्साशास्त्र मानिन्छ । आयुर्वेद नेपालको पनि मौलिक एवम् राष्ट्रिय चिकित्सा पद्दति हो । पुस्तौंदेखि नेपालीहरुले आफ्नो स्वास्थ्यको संवद्र्धन तथा उपचारका लागि स्थानीयस्तरमा पाइने जडिबुटीको प्रयोग गर्दै आएका छन्, जुन आयुर्वेद चिकित्साको एउटा पक्ष हो । आधुनिक चिकित्सा र एलोपेथिक उपचार पद्दतिको विभिन्न नकारात्मक प्रभावसमेत सहनुपरेको वर्तमान अवस्थामा आयुर्वेद तथा वैकल्पिक चिकित्साको प्रवद्र्धनमा राज्यको पर्याप्त ध्यान जान सकेको छैन । आफ्नो स्वास्थ्य बिग्रन नदिन र नसर्ने तथा दीर्घ रोगहरुको उपचारमा आयुर्वेद चिकित्सा निकै उपयोगी हुनसक्छ । आम नागरिकमा आयुर्वेद तथा वैकल्पिक चिकित्साप्रति मोह बढिरहेको अवस्थामा सरकारले यसको विकास तथा विस्तारमा पर्याप्त ध्यान दिन नसक्दा यो उपेक्षित बनेको पाइन्छ ।

पर्सा जिल्लाको रानीगञ्जमा स्थापना भएको नारायणी अञ्चल आयुर्वेद औषधालयलाई २०३४ सालमा हेटौंडाको सानोपोखरामा स्थानान्तरण गरिएपछि मकवानपुरमा औपचारिक आयुर्वेद उपचार पद्दतिको सुरुवात भएको हो । २०३८ सालमा नगरपालिका अगाडि आफ्नै भवनबाट सेवा सञ्चालन गरेको उक्त औषधालयको नाम आर्थिक वर्ष २०७७/०७८ बाट जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुर राखियो । हाल आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको नामबाट सोही स्थानमा नयाँ भवनसहित सेवा दिइरहेको छ । नयाँ भवनबाट सेवा सुरु गरेसँगै उपचार सेवा लिनेको संख्या बढ्दै गए पनि कर्मचारीको अभावले प्रभावकारी सेवा दिन सकिरहेको छैन । गत बैशाख महिनामा चिकित्सालयबाट ५ सय ३१ जनाले सेवा लिएकोमा जेठ महिनामा १ हजार जनाले सेवा लिएका थिए । यस्तै, असार महिनामा २ हजार ४ सय र साउन महिनामा १ हजार ९ सय ६७ जनाले चिकित्सालयबाट विभिन्न उपचार सेवा लिएका छन् । जेनजी आन्दोलनले भदौको अन्तिम हप्ता सेवा प्रभावित हुँदा पनि भदौमा १ हजार ६ सय ४४ जनाले उपचार सेवा लिएको चिकित्सालयको तथ्यांक छ ।

दैनिक एक सयको हाराहारीमा सेवाग्राही आउने गरेको भए पनि चिकित्सालयमा दरबन्दी अनुसारका जनशक्ति र पर्याप्त स्वास्थ्यकर्मी नहुँदा सेवाप्रवाहमा समस्या परेको छ । चिकित्सालयमा नवौं तहको चिकित्सकको दरबन्दी रिक्त छ । आठौं तहको २ जनाको दरबन्दीमा एक जनामात्र चिकित्सक कार्यरत छन् । चिकित्सालयमा फिजियोथेरापिष्ट, कविराज, वैद्य, ल्याब टेक्निसियन एक–एक जना कार्यरत छन् । यस्तै, फार्मेसी, अकुपञ्चर र लेखापालको काममा एक–एक जना जनशक्ति छन् भने करारमा २ जना स्टाफ नर्स कार्यरत छन् । १६ वटा शैयासहितको अन्तरङ्ग सेवासमेत सञ्चालन गर्नेगरी भवन निर्माण गरिएको भए पनि पर्याप्त जनशक्ति नहुँदा सेवा सञ्चालनमा आउन सकेको छैन ।

तीनै तहको सरकारले नागरिकको स्वास्थ्य उपचारलाई उच्च प्राथमिकतामा दिएको भन्दै आए पनि सहज उपचार सेवा पाउन कठिन बनिरहेको छ । सरकारले आधुनिक चिकित्सालाई बढी महत्व दिने गरेका कारण आयुर्वेद तथा वैकल्पिक चिकित्सा सधैं ओझेलमा परेको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई प्राथमिकतामा राखेको बताउने सरकारले व्यवहारमा यो उपेक्षित नै देखिन्छ । हेटौंडाको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले वहिरङ्ग सेवा जेनतेन दिइरहेको भए पनि अन्तरङ्ग सेवा सुरु गर्न नसक्नुले सरकारले यसलाई उपेक्षा गरेको मान्न सकिन्छ । पूर्वाधार तयार भइसकेको अवस्थामा आवश्यक जनशक्तिको व्यवस्था गरेर सबै प्रकारको सेवा सहज बनाउनु उचित हुनेछ ।