हेटौँडा : चितवन जिल्लाको रत्ननगर नगरपालिका–१२ स्थित किसान दाना उद्योगमा काम गर्ने क्रममा दाना नै थिचेर ३ जना मजदुरको मृत्यु भएको छ । बुधबार बिहान दानाको पर्खाल भत्किएर थिचिँदा ५ जना मजदुर घाइते भएका थिए । घाइते मध्ये २ जनाको मृत्यु भएको २ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दानाले थिचेर गम्भीर घाइते भई उपचारका क्रममा चितवन जिल्लाको खैरहनी नगरपालिका–२ का ४५ वर्षीय सुकराम दराई, चितवन जिल्लाको रत्ननगर नगरपालिका–१२ का ४५ वर्षीय कमल गुरुङ र गोरखा जिल्ला घर भई हाल रत्ननगर नगरपालिका–१२ बस्ने ५४ वर्षीय रेशम दमाईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको बुधबार बिहान १० बजेदेखि ११ बजेको बीचमा मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ ।
दुर्घटनामा परी पर्सा जिल्ला घर भई हाल रत्ननगर नगरपालिका–१२ बस्ने ३९ वर्षीय जितेन्द्र महतो र पर्सा जिल्ला घर भई हाल रत्ननगर नगरपालिका–१२ बस्ने ४० वर्षीय अंकजप्रसाद थारू घाइते भई चितवन मेडिकल कलेजमा उपचाररत रहेको प्रहरीले जनाएको छ । मृतकको शव साँझ ५ बजेको समयमा पोष्टपामर्टमका लागि प्रहरीले भरतपुर अस्पताल पु¥याएको बताइएको छ ।











