Home खेलकुद चैनपुर जेसीज मनहरी कप फुटबल, सेमिफाइनल समीकरण पूरा

चैनपुर जेसीज मनहरी कप फुटबल, सेमिफाइनल समीकरण पूरा

म्यान अफ द म्याचको ट्रफी हस्तान्तरण गरिँदै ।

हेटौँडा : तेस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । मंगलबार अन्तिम क्वार्टरफाइनलको खेल सम्पन्न भएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । बुधबारबाट सेमिफाइनल चरणको खेल हुनेछ ।

अन्तिम क्वाटरफाइनल खेलमा पटिहानी इभेन्ट्सले मनहरी ५ लाई ३–२ गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको छ । पटिहानीले पहिलो हाफमा १ गोल गर्दा दोस्रो हाफमा २ गोल थपेको थियो । २२ औं मिनेटमा मोहित गुरुङले पेनाल्टीमार्फत गोल गर्दै पटिहानीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातीमै कृपा चौधरीले अग्रता दोब्बर बनाए । दोस्रो हाफको २७ औं मिनेटमा सुरेश कुमालले पटिहानीका लागि सान्त्वना गोल गरेका हुन् ।

३ गोलले पछि परेको अवस्थामा मनहरी ५ ले २ मिनेटमै २ गोल गरेपनि हारलाई टार्न भने सकेन । मनहरी–५ का लागि दोस्रो हाफको ३३ औं मिनेटमा मनिष क्षेत्रीले पेनाल्टी मार्फत गोल गरे । त्यसको एक मिनेटपछि नै यमन चौधरीले दोस्रो गोल गरेका थिए । बाँकी समयमा थप गोल नहुँदा पटिहानी ३–२ ले विजयी हुँदै सेमिफाइनलमा गुरुशिष्य पाठशालासँगको भेट पक्का गरेको छ । बुधबार पहिलो सेमिफाइनलमा कमाने फुटबल एकेडेमी र साविक विजेता मकवानपुरगढी जेसीजले खेल्नेछ ।

चैनपुर जेसीज मनहरीको आयोजनामा सन्चालित जेसीज कप फुटबल प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार एक सय ११ रुपैयाँ तथा उपविजेताले ५१ हजार एक सय ५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले १० हजार र अन्य विधागत उत्कृष्टले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजक चैनपुर जेसीज मनहरीका अध्यक्ष कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।

Exit mobile version