Home मुख्य समाचार आयुर्वेद तथा बैकल्पिक चिकित्सालयमा सेवाग्राही बढ्दै, कर्मचारी घट्दै

आयुर्वेद तथा बैकल्पिक चिकित्सालयमा सेवाग्राही बढ्दै, कर्मचारी घट्दै

आयुर्वेद तथा बैकल्पिक चिकित्सालयको तस्वीर ।

हेटौंडा : हेटौंडा–२, नगरपालिकारोडस्थित आयुर्वेद तथा बैकल्पिक चिकित्सालयमा उपचार सेवा लिनेको संख्या बढ्दै जाँदा कर्मचारीको अभाव पनि बढ्दै गएको छ । गत असार २९ गते बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले यस चिकित्सालयको नवनिर्मित भवनको उद्घाटन गरेर नयाँ भवनबाट सेवा सुरु भएपछि सेवाग्राही बिरामीको संख्या बढ्दै गएको हो ।

गत आर्थिक वर्ष २०८१/०८२ को बैशाख महिनामा अस्पतालमा ५ सय ३१ जना र जेठ महिनामा १ हजार जना बिरामीले आयुर्वेदिक तथा बैकल्पिक चिकित्सामार्फत् उपचार गराएकामा असार महिनामा २ हजार ४ सय अर्थात् दोब्बरभन्दा बढीले उपचार गराएको चिकित्सालयको तथ्याङ्क छ । चालु आर्थिक बर्षको साउन महिनामा १ हजार ९ सय ६७ जना बिरामीले विभिन्न उपचार सेवा लिएका थिए ।

यस्तै, भदौ महिनामा भने जेनजी आन्दोलनको कारण अन्तिम हप्ता बिरामीहरु नै उपचारका लागि नआएका कारण संख्या घटेको चिकित्सालयका तथ्याङ्क फोकल पर्सन प्र्रेमशंकर प्रसादले जानकारी दिनुभयो । अन्तिम हप्ता नै बिरामी नआउँदा पनि भदौमा १ हजार ६ सय ४४ जना बिरामीहरुले उपचार सेवा लिएको पनि उहाँले जानकारी दिनुभयो । यस चिकित्सालयमा सबैभन्दा बढी पञ्चकर्म सेवा लिएको तथ्याङ्क छ ।

चिकित्सालयमा सेवा लिन आउने बिरामीको संख्या बढ्दै दैनिक १ सयदेखि १ सय ५० जनासम्म पुगे पनि चिकित्सालयमा ६ जनाको मात्र दरबन्दी छ । चिकित्सालयमा नवौं तहको कम्तीमा एकजना कर्मचारी रहनुनर्पेमा सो दरबन्दी खाली रहेको छ । अहिले चिकित्सालयमा आठौं तहको दरबन्दी २ वटा भए पनि एकजना डा. हरि न्यौपानेमात्र कार्यरत रहनुभएको छ । फिजियोथेरापिष्ट १ जना, कविराज १ जना, ल्याब टेक्निसियनको दरबन्दी २ जनाको भए पनि हाल १ जनामात्र कार्यरत छन् ।

यस्तै, १ जना फार्मेसीमा, १ जना अकुपञ्चरमा, १ जना लेखापाल, १ जना बैद्य, १ जना स्विपर र अस्थायी करारमा २ जना नर्सहरु कार्यरत रहेका छन् । एक जना फिजियोथेरापिष्टले एकदिनमा १० जनालाई सेवा दिनुपर्ने मापदण्ड भए पनि दैनिक कम्तीमा २५ भन्दा बढीलाई सेवा दिइरहेका छन् ।

कर्मचारी कमी भएका कारण चिकित्सालयको अन्तरङ्ग सेवा विस्तार गर्न नसकिरहेको अवस्थामा यस वर्षको साउनयता ल्याबमा कार्यरत १ जना र पञ्चकर्म तथा पूर्वकर्म शाखामा कार्यरत २ जना कर्मचारीलाई संघीय सरकारले करार नवीकरण नगरेकाले अहिले चिकित्सालयमा १५ जना कर्मचारीमात्र कार्यरत छन् ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सो चिकित्सालयको उद्घाटन गर्दै बागमती प्रदेश सरकारले आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवालाई प्राथमिकतामा राखेको बताउनुभएको थियो । तर, सेवाग्राही बढ्दै गएको अवस्थामा पनि कर्मचारी घट्दै जाँदा बिरामीलाई नियमित सेवा दिन समस्या परिरहेको कर्मचारीहरुले समेत गुनासो गरेका छन् । टाढाबाट आउने बिरामी र दीर्घरोगीहरुलाई अन्तरङ्ग सेवा प्रभावकारी हुने भएपनि कर्मचारी अपुग भएपछि १६ शैयासहितको अन्तरङ्ग सेवा सुचारु गर्न नसकिएको चिकित्सालयले जनाएको छ ।

चिकित्सालयमा सामान्य आयुर्वेद अन्र्तगत पूर्वकर्म सेवा(शिरोधारा, मसाज, बाफ लिने), जलौका सेवा (जुकाबाट उपचार), अग्निकर्म सेवा (आगोबाट उपचार), फिजियोथेरापी सेवा, चाइनिज ट्रेडिसनल मेडिसिन (अकुपञ्चर), २३ प्रकारका निःशुल्क र अन्य सशुल्क औषधि वितरण सेवा, ल्याब सेवा, आहारबिहार परामर्श सेवा, स्तनपायी आमालाई दुग्धबद्र्धक औषधि वितरण सेवा, योग सेवालगायतका सेवा प्रदान हुँदै आएको छ ।

Exit mobile version