हेटौँडा : हेटौंडा–६ निवासी भगवती चौलागाईं आफ्नो दोस्रो बच्चालाई जन्म दिन प्रसूति सेवाका लागि हेटौंडा अस्पताल आउनुभयो । प्रश्रव पीडा लिएर आउनुभएकी भगवतीले भोलिपल्ट बिहानमात्र बच्चालाई जन्म दिनुभयो ।
यसअघि चितवनको सुविधासम्पन्न अस्पतालमा पहिलो पटक सुत्केरी हुनुभएकी भगवती दोस्रो पटक प्रसूति सेवा लिन हेटौंडा अस्पताल आउँदा मनमा विभिन्न आशंका र डर लागे पनि प्रसूति सेवा प्राप्त गरेपछि भने अत्यन्तै हर्षित हुनुहुन्छ । ‘म हेटौँडा अस्पतालको मातृशिशु वार्डमा २ दिन रहँदा पाएको सेवाबाट सन्तुष्ट छु’, भगवती भन्नुहुन्छ, ‘सामाजिक सञ्जालमा सुनेको आरोप र मैले भोगेका सेवामा फरक पाएँ ।’
अघिल्लो पटक सुत्केरी हुँदा पाठेघरमा पानी कम भएको अवस्थामा हेटौँडा अस्पतालमा चिकित्सक तत्काल उपलब्ध नभएकोले उहाँलाई भरतपुर रिफर गरिएको थियो । यसपटक पनि उहाँ सेवामा कमजोरी हुनसक्ने आशंकासहित अस्पताल आए पनि सेवाको परिस्थितिमा पहिलेभन्दा धेरै फरक महसुस गरेको चौलागाईं बताउनुहुन्छ । उहाँले भरतपुरमा र हेटौंडा अस्पतालको सेवामा केही अन्तर नभएको बताउनुभयो ।
यही वार्डबाटै छोरीलाई प्रसूति सेवा लिई घर लैजान झोलाझाम्टा कसिरहनुभएकी मनहरी–५, डिल्लीपुरकी सुन्तली थिङले पनि अस्पतालको सेवामा आफू सन्तुष्ट भएको बताउनुभयो । ‘सुत्केरीका लागि चाहिने कुरा पनि समयमै भन्नुभयो अनि हामीलाई सजिलो भयो । बेलाबेला नर्सहरु आएर बच्चा र आमाको अवस्था पनि बुभ्mने रहेछन् ।’
आफन्तलाई सुत्केरी गराउन साथी आउनुभएकी बागमती गाउँपालिका–८, फापरबारीकी सुनिता तामाङले पनि अस्पतालको सेवा आफूलाई राम्रो लागेको बताउनुभयो । उहाँले पनि नर्सहरुको हेरचाह राम्रो लागेको अनुभव सुनाउनुभयो । यसअघि रिफर सेन्टरको रुपमा मात्रै परिचित रहेको हेटौंडा अस्पतालमा मातृशिशु तथा प्रसूतिका सेवाग्राहीहरुले सकारात्मक अुनभवमात्रै व्यक्त गरेनन्, हेटौंडा अस्पतालले सुधारात्मक बाटोमा लागेको दावीसमेत गरेका थिए ।
हेटौंडा अस्पतालको मातृशिशु वार्डले दैनिक १५ जनाभन्दा बढीलाई प्रसूति सेवा प्रदान गर्दै आइरहेको छ । वार्डकी नर्सिङ इन्चार्ज देवकी खतिवडाले उपलब्ध जनशक्तिलाई पूर्ण परिचालन गर्न लागिपरेको बताउनुभयो । हाल यस वार्डमा २ जना मेडकल अफिसर (चिकित्सक), २ जना एमडी अध्ययनरत चिकित्सक, स्टाफ नर्स ११ जना र अनमी ४ जना कार्यरत रहेका छन् ।
अस्पतालले प्रसूति वार्डलाई सुविधासम्पन्न बनाउनका लागि साउनबाट सिटीजी (कार्डियोटोकोग्राफी) सुरु गरेको छ । सो उपकरणद्वारा बच्चाको मुटु तथा रक्तसञ्चारको अवस्थाबारे जानकारी लिएर मात्र प्रसूति गराउने गरेको वार्डकी नर्सिङ इन्चार्ज खतिवडाले जानकारी दिनुभयो । यस्तै, इमर्जेन्सी अवस्थाका लागि हस्पिटलले एक वर्षअघिबाट मातृशिशु वार्डभित्रै छुट्टै अल्ट्रासाउण्ड उपकरण पनि नियमित सञ्चालन गरिरहेको छ ।
ओपीडीबाट बालरोग विशेषज्ञले दैनिक दुईपटक वार्ड भिजिटि गरी नवजात शिशुहरुको अवस्थाबारे चेकजाँच गर्ने गरेका छन् भने वार्डभित्रै खटिएका चिकित्सकले २४ सै घण्टा आइपर्नसक्ने स्वास्थ्य जोखिमबारे तत्पर अवस्थामा रहने गरेको अस्पतालले जनाएको छ । पछिल्लो समय मातृशिशु तथा प्रसूति सेवालाई उत्कृष्ट बनाउन अस्पतालले थप सेवा सञ्चालन गरेको छ ।
अस्पतालको प्रसूति वार्डमा हाल ४० शैया उपलब्ध रहेका छन् । जसमध्ये ८ शैयामा प्रसूतिपूर्व बिरामीलाई आराम गर्न प्रयोग गरिएको छ । ९ वटा शैया प्रसूतिबाहेकका अन्य प्रजननसम्बन्धी समस्याका बिरामीका लागि प्रयोग गरिन्छ । प्रसूतिकै लागि ३ वटा र सुत्केरीको अवस्था चेकजाँच गराउन २ वटा तथा प्रसूतिपछि सुरुवातमा समस्याको सम्भावना भएकालाई ३ वटा शैयाको प्रयोग गर्ने गरिन्छ । बाँकी १५ वटा शैया भने प्रसूतिपछि आराम गर्ने सुत्केरीहरुका लागि प्रयोग हुँदै आएको छ ।
चालु आर्थिक वर्षको साउन महिनामा यस वार्डमा १ सय ६० महिलाले सामान्य प्रसूति सेवा लिएका थिए भने ९ जना जोखिम परिस्थितिका बिरामीहरुले प्रसूति सेवा प्राप्त गरेका थिए । यस्तै, भदौमा १ सय ५३ जना महिलाहरुले सामान्य प्रसूति गराएका छन् भने ८ जना जोखिम अवस्थाका गर्भवती महिलाहरुले प्रसूति सेवा लिएको तथ्याङ्क छ ।











