Home मुख्य समाचार हत्या, आगजनी र लुटपाटको निष्पक्ष छानविन गरियोस्

हत्या, आगजनी र लुटपाटको निष्पक्ष छानविन गरियोस्

१. निश्चय नै कुनै पनि विद्रोह र आन्दोलन सहज र शान्तिपूर्ण हुँदैन । मतभेद हुन्छन् । बिवाद हुन्छन् । विचारहरु मिल्दैनन् । समाज वर्गीय हुन्छ । मान्छेहरु आआफ्ना वर्गमा लामबद्ध हुन्छन् । शोषक नभएको समाज बनेन । शोषकले शासित वर्ग जन्मायो । एउटा वर्ग पीडक बन्न उद्दत भयो । अर्को वर्ग बाध्यात्मक रुपमा पीडित कित्तामा धकेलियो । किसानसँगै सामन्त जन्मिए । मालिक सँगसँगै मजदूर उदाए । पूँजीपतीसँग सर्वहारा आए । माक्र्सले कल्पना गरेको वर्गबिहिन समाज किताबमै सीमित भयो । पीडित र शोषितहरुले खास अवस्थामा पीडक र शोषकसँग बाँच्नका लागि माग राख्ने हिम्मत गर्न थाले । बदलामा शोषण र दमन तिव्र सहनु प¥यो । असैह्य स्थितिमा असन्तोषले बिद्रोहको आकार लिन थाल्यो । पीडित वर्गका हक अधिकारका कुरा उठ्न थाले । राज्यको उत्पत्ति यहि पृष्ठभूमिमा भएको हो ।

मालिकहरु दास र कमारा कजाउने जालहरु बुन्न थाले । राजासँग रैती देखिए । सम्राटसँग प्रजा जन्मिए । कागजमा नागरिक र जनता भनिए । व्यवहारमा रैती र प्रजाकै अभ्यास भए । शोषक वर्ग यी आवाज दबाएर शोषितमाथिको शोषण थप तिव्र बनाउने उपाय खोज्न थाल्यो । शासक सधैं शोषक वर्गको प्रतिनिधि बने । शोषित कहिल्यै शासक बन्न सकेनन् । यदि शासक बनिहाले पनि शोषक वर्गमा रुपान्तरण भै हाल्ने परम्परा विकसित भयो । आजसम्मको मानव सभ्यताको प्रारम्भ, विकास, विनास र सामाजिक संरचना भनेकै वर्ग संघर्षको उपज हो । वर्गीय संघर्ष, एकता, विभाजन र पुनः एकता पनि यहि संघर्षको परिणाम हो । सन्दर्भ हाम्रो मुलुकसँग मात्र होइन, दुनियाँका हरेक राष्ट्र र प्रत्येक कुनाको चरित्रमा तात्विक अन्तर छैन ।

२. शासक वर्गले शोषित वर्गका न्यायिक आवाजको दमन गर्नु स्वधर्म हो । पीडक कहिल्यै पीडितको मित्र बन्नै सक्दैन । शोषित पीडितको आवाज बोकेर शासक कहिल्यै शासक हुनै सक्दैन । वर्गीय चरित्र र स्वभाव हुन्छ । वर्गीय विशेषता पालना गर्नै पर्दछ । बाघको स्वभावसँग बाख्राको स्वभाव मेल खाँदैन । यो दर्शनको विषय हो । नदीका दुई किनारा आपसमा कहिल्यै भेट्दैनन् । एक अर्कामा हेराहेर गर्छन् । त्यस्तै आकाश र पृथ्वीलाई लिन सकिन्छ । एक अर्काको अस्तित्वका लागि पनि यी दुईटै हुनु अनिवार्य छ । यदि दुबै किनारा एक अर्कामा विलय हुने हो भने पहिलेको पहिचान समाप्त हुन्छ । कतिपय प्रकृति प्रद्धत स्थितिहरु शास्वत हुन्छन् । देख्दा र सुन्दा सरल तर बुझ्दा जटिल हुने यस्को चरित्र हो । विश्लेषण र आत्मसात पश्चात मात्र दर्शन अध्ययनको ढोका खुल्दछ । यहि कुरा आन्दोलन, संघर्ष र युद्धमा पनि लागु हुन्छ ।

दुई फरक वर्ग र चरित्रसँगको अन्तरबिरोधले बेमेल उत्पन्न गर्दछ । त्यहि बेमेल हुर्किएर झगडा बन्दछ । आन्दोलन हुन्छ । संघर्ष हुन्छ । एउटा वर्गले अर्को वर्गलाई दबाउन खोज्दा स्वभाविक जन्मेको अन्तरबिरोध कालान्तरमा युद्धमा परिणत हुने तथ्य सामान्य व्यक्तिले पनि सहजै बुझ्ने कुरा हो । समग्र भूमण्डलका विभिन्न कालखण्डका युद्धका चरित्र र विशेषतासँग तत्कालिन शासकीय सोच र चिन्तन जोडिएका छन् । त्यहि प्रवृत्ति एशिया महाद्वीपमा अझ दक्षिण एशियामा अधिक भेट्न सकिन्छ । हाम्रो मुलुकको विगतका आन्दोलन र युद्धलाई हामीले अध्ययन गर्न सक्छौं । वर्तमानका बदलिएका शासकीय चरित्र र भिन्न शिरामा उब्जिने नागरिक आन्दोलनले परिवर्तित सन्दर्भ बोकिरहेको हुन्छ । आन्दोलन र युद्धमा शासक र शासितका देश, काल र परिस्थितिसँगै शैली र हतियार बदलिए पनि सारमा वर्ग संघर्षको फरक स्वरुप भन्दा थप अरु हुँदैन ।

३. प्रसंगलाई जेन–जेड आन्दोलनसँग जोड्न खोजिएको हो । १३ वर्षदेखि २८ वर्ष उमेर समुहका युवाले यस मुलुकमा गरेको बलिदानीपूर्ण आन्दोलनको कारण र परिणामसँग यो आलेख केन्द्रित रहेको छ । भ्रष्टाचार र दुराचारको अन्त्यका सवालमा कतै कसैको बिमति छैन । समाजको विकास अवरुद्ध मात्र हैन मुलुकको अधोगतिको प्रमुख कारक भनेकै भ्रष्टाचार हो । सरकार अभिभावक बन्न सक्नु पर्दछ । आम नागरिकको अभिभावकत्व बहन गर्ने सरकार नै लोकप्रिय र जनप्रिय बन्दछ । सही शिक्षा प्रदान गर्ने अभिभारा सरकारको हो । गलत र बेठीक अन्त्यका लागि लाग्नुपर्ने सरकारले न्यायिक आवाज सुन्ने धैर्यता गरेन । युवा जनशक्ति बैदेशिक पलायनलाई रोक्ने आधारहरु बनाउने बेलामा उल्टै मानव बेचबिखनको नयाँ व्यवसायमा सरकारको रुची देखियो । शिक्षक कर्मचारीका समस्या हल गरेर समयानुकूल ऐन कानून बनाउनु पर्ने सरकार सहमति र सम्झौताका नाटक मञ्चनमा क्रियाशील रहेकै हो ।

तस्कर र बिचौलियालाई निषेध गर्नुपर्नेमा प्रोत्साहन गर्ने र काखी च्याप्ने काम भएकै हो । भ्रष्टाचारी र दुराचारीलाई हान्नुपर्ने गोली निहत्था र निर्दोष विद्यार्थीलाई हानियो । आफू र आफ्नाको प्रशंसा र चाकडीमा रमाउने खेलमा मात्र सरकार लागेकै हो । सत्य र यथार्थ भनाईहरु सुन्नुको बदला शत्रुवत व्यवहार गरियो । योग्य, दक्ष, अनुभवी र क्षमतावानहरुका लागि निषेध गरी भ्रष्ट र दुराचारीलाई सरकार र पार्टीमा हर्ताकर्ता बनाएकै हो । छेपारो झैं रंग बदल्ने र बेलुका सुत्दा एउटा पार्टी बिहान उठ्दा अर्को पार्टीको सदस्य बन्नेहरु बेरोकटोक नेतृत्वका बेडरुम सम्म पहुँच हुँदा सिङ्घो जीवन नै पार्टीमा समर्पण गरेका त्यागी र निष्ठावानहरुका लागि उपयुक्त जिम्मेवारी त धेरै टाढाको कुरा नेतृत्वले भेटसम्म पनि नदिएकै हो ।

समयमा उपचार नपाएर कैयौं नागरिकहरु चिच्याइरहेको बेला लठैतहरु पालन पोषणका लागि राज्यकोषको चरम दुरुपयोग गरियो । विकृत, विसंगत र गैरसामाजिक क्रियाकलापमा रोक लगाउने र दण्ड गर्नुको बदला सामाजिक सञ्जालमा आधुनिक प्रविधिका एप्सहरु बन्द गरिए । पार्टी र सरकारमा त्यागी र स्वाभिमानीलाई कारबाही गर्दै अवैध नोटका बिटा र सुनका डल्ला बोक्ने तस्करका लागि रातो कार्पेट बिछ्याईए । अपराधका फेहरिस्त र कर्तुत उजागर गर्नेलाई भित्तैसम्म पुग्ने गरी मुद्दा लगाइएकै हो ।

४. मूल आन्दोलनकारीहरु सरकारी र नीजि सम्पत्तिमा आगो लगाउने योजना नभएको भनिरहेका छन् । कुत्सित मनसाय भएका अपराधीहरुको घुसपैठ भएकै हो । जलाउनु पर्ने दुर्नियत र गलत प्रवृत्ति थियो तर उल्टो सयौं वर्षदेखिको इतिहास र अभिलेख संरक्षित सिंहदरबार जलाईयो । भ्रष्टाचारी र दुराचारीका आपराधिक हर्कतका फाईल खोलेर कानूनकै आडमा जेल राख्न सकिन्थ्यो तर ती सबै मुद्दाका फाईल रहेको सर्वोच्च अदालत र अरु अदालतहरु जलाईए । भ्रष्टहरुलाई प्रमाणसहित कैद गर्न सकिन्थ्यो तर उनीहरुको नीजि घर र व्यवसाय खरानी बनाएर चोख्याउने काम भयो । हुलमुलको नाममा निरपराधी र ईमान्दारहरुको वर्षौंको रगत र श्रम, पसिनामा आगो लगाईयो ।

छानबिन र विश्लेषणको सबै ढोका बन्द गरिए । हो, भ्रष्टाचार र दुराचार जलाउने नै हो तर हजारौं सरकारी सवारी साधन जलाएर राष्ट्रिय सम्पत्ति खरानी बनाउँदा क्षति त यो मुलुकको भएकै हो । अहिले बीसौं अरबको सम्पत्ति खरानी भएको प्रारम्भिक अनुमान भनिएको छ । यो मुलुकका अपराधीहरु, राष्ट्रघातीहरु, भ्रष्टाचारीहरु र दुराचारीहरुलाई विधिपूर्वक नै पर्याप्त सजाय जरुरी छ । पछिल्लो पैंतालिस वर्ष अवधिमा प्रत्येक व्यक्तिको सम्पत्ति एक एक केलाएर र छानबिन गरी अबैध देखिएका सबै सम्पत्ति राज्यकोषमा दाखिला गर्नुपर्दछ । प्रमाणित भएका अपराधीलाई आजन्म जेल हाल्नै पर्दछ ।

५. अन्तमा, सम्पत्ति र संरचना भोलि पुनर्निर्माण गर्ने सम्भावना छ र सकिन्छ तर गोली लागेर जीवन गुमाएका ती निरिह विद्यार्थीहरु कुनैपनि मूल्यमा फिर्ता हुँदैनन् । यो सबैभन्दा संवेदनशील र गम्भीर पक्ष हो । यदि कानूनी राज्यको दावी गरिन्छ भने २०८२ साल भाद्र २३ गते गरिएको विद्यार्थी हत्याको जिम्मेवारलाई सख्त कारबाही गर्नै पर्दछ । सँगै भोलिपल्ट गरिएको आगजनी र लुटपाटको छानबिन गरिनु जरुरी छ । राष्ट्रिय सम्पत्ति र संरचना जलाएर ध्वस्त बनाउनेहरुको यथार्थ छानबिन गरी हदैसम्मको सजायँ हुनुपर्दछ । नीजि सम्पत्ति र व्यवसाय जलाउनेहरु अबिलम्व खोजेर ती अपराधीहरुलाई दण्डित गर्नैपर्दछ । उक्त दुबै दिनका घटनाका दोषी अपराधीहरुको निक्र्यौल गरी दण्ड दिनका लागि आयोग गठन भइसकेको छ । विगतका विभिन्न विषयसँग गठित नाममात्रका आयोग झैं यो आयोग नबनोस् र सही नतिजा दिन सफल रहोस भन्ने अपेक्षा गरिएको छ ।

Exit mobile version