हेटौँडा : साविक विजेता मकवानपुरगढी जेसीज तेस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा मनहरी–४ लाई २–१ गोलअन्तरले पराजित गर्दै मकवानपुरगढी जेसीजले अन्तिम ४ मा स्थान बनाएको हो । मनहरी–४ ले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पहिलो खेलबाटै बाहिरिएको छ ।
मनहरी–४ का लागि २५ औं मिनेटमा विज्ञान खड्काले फ्रीकिकमार्फत उत्कृष्ट गोल गरेका थिए । मकवानपुरगढी जेसीजका निर्णय क्षेत्रीले ५४ औं मिनेटमा बराबरी गोल फर्काए । ५९ औं मिनेटमा जेसीजले पेनाल्टीमार्फत विजयी गोल ग¥यो । मनहरी–४ का सुरज रेग्मीले विपक्षी खेलाडीलाई तानेको भन्दै रेफ्रीले दिएको पेनाल्टीलाई सदुपयोग गर्दै कुलदिप कार्कीले गोल गरेका हुन् । म्यान अफ द म्याच मनहरी–४ का विज्ञान खड्का घोषित भए ।
शनिबारै हुने भनिएको खेलमा एफसी ढेंडो अनुपस्थित भएपछि मोडर्न युथ क्लव मनहरी–१ लाई विजेता घोषणा गरिएको छ । मोडर्न पनि क्वार्टरफाइनल प्रवेश गरेको छ । अर्को खेलमा गुरुशिष्य पाठशालाले माया एफसीलाई २–० ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । गुरुशिष्यका लागि अभिषेक लामाले २५ औं मिनेटमा र साजन लामाले ६० औं मिनेटमा गोल गरे । म्यान अफ द म्याच गुरुशिष्य पाठशालाका अभिषेक लामा घोषित भए । जारी प्रतियोगितामा आइतबार पनि २ खेल हुने आयोजकले जनाएको छ । कात्तिक १ गतेसम्म सन्चालन हुने प्रतियोगिताको विजेताले एकलाख एकहजार एकसय ११ रुपैयाँ तथा उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले १० हजार र विधागत उत्कृष्टले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।











