हेटौंडा : भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनले खेलकुद क्षेत्रमा गम्भीर असर पुर्याएको छ । आन्दोलनका कारण यस वर्षको दशैं र तिहार बिदामा कुनै पनि खेलकुद गतिविधि नहुने मकवानपुर खेलकुद विकास समितिका अध्यक्ष राजकुमार तामाङले जानकारी दिनुभयो ।
भदौ २४ गते दोस्रो दिनको प्रदर्शनका क्रममा हेटौँडा उपमहानगरपालिका–४ हुप्राचौरस्थित खेलकुद विकास समितिको कार्यालयमा तोडफोड र आगजनी भएको थियो । आगजनीबाट कार्यालय भवनमा रहेका ५२ थान प्लास्टिकका कुर्सी, ३ थान फलामका कुर्सी, ४ थान काठका टेबल, २ थान प्लास्टिकका टेबल र सम्पूर्ण विद्युतीय तारहरू पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । यसका साथै १ थान कम्प्युटर, ना १२ प ४४६८ नम्बरको सरकारी मोटरसाइकल, ४९ थान फुटबल र ४ थान नेट, ४९ थान भलिबल र ४ थान नेट, १३ थान क्रिकेट बल, १ सेट क्रिकेट म्याट, ३० थान बेड म्याट, ६० सेट सिरक डसना, २० वटा एथलेटिक्स सामग्री र भाला, ४० वटा हक्की स्टिक र २० वटा बल, २ वटा किपर सेट, १२० थान हक्की साइड बोर्ड लगायतका सामग्री, कागजात र कार्यालयका सम्पूर्ण झ्याल ढोकाहरूमा क्षति पुगेको छ ।
अध्यक्ष तामाङले हाल कार्यालयको मर्मतका लागि राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय भइरहेको जानकारी दिनुभयो । खेलकुद सम्बन्धी गतिविधिहरू तिहार र छठपछि मात्र सुरु हुने उहाँको भनाइ छ ।
