हेटौँडा : एक वर्षअघिको विपद्ले थिलथिलो बनेको विपी राजमार्ग यही असोज १७ र १८ गतेको वर्षाले थप समस्याग्रस्त बनाएको छ । २०८१ असोज १० गतेदेखि १२ गतेको वर्षाका कारण विपी राजमार्ग अन्तर्गतको केही भागको सडक नै बगाएको थियो ।
संघीय राजधानी काठमाडौंलाई पूर्वी नेपालसँग छोटो दूरीमा जोड्ने महत्वपूर्ण मार्गको रुपमा रहेको विपी राजमार्ग यही असोज १८ र १९ गतेको वर्षाले पुरानै अवस्थामा पु¥याएको छ । एक वर्ष अघि क्षति व्यहोरेको उक्त सडक अस्थायी डाइभर्सन बनाएर संचालनमा ल्याइएको थियो । तर, विडम्बना एक वर्ष पछि पुनः सो सडक वर्षाका कारण क्षतिग्रस्त बनेको छ । विगतको विपद्को व्यवस्थापन पुरा नहुँदै सोही स्थानमा निर्माण गरिएको अस्थायी डाइभर्सन बगायो । सामान्य गोरेटो समेत बाँकी नरहेने गरी रोशी खोलाले सडक बगाउँदा सवारी आवागमन त रोकियो नै पैदलयात्रा समेत कष्टकर बनेको छ । सो सडकखण्ड अन्तर्गत पर्ने चौकीडाँडा, बोक्सी कुना, नर्के लगायतका क्षेत्रका बाटो खोलाले बगाएपछि त्यस क्षेत्रमा मानिसहरु बाँकी रहेको पहरामा खोस्रोर यात्रा गर्न बाध्य छन् । वर्षाका कारण विपी राजमार्गको ४ किलोमिटर सडकको डाइभर्सन बगाएको छ ।
काभ्रे तर्फको रोशी खोलामा आएको बाढीले राजमार्गका ३.४ किलोमिटर सडक बगाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ भने सिन्धुलीतर्फ करिव १ किलोमिटर सडक बगाएको डिभिजन कार्यालय सिन्धुलीले जनाएको छ । बाढीले गत वर्ष निर्माण गरिएको अस्थायी डाइभर्सन पनि पूर्णरूपमा कटान गरेका कारण अहिले सडक सम्पर्कविच्छेद भएको डिभिजन सडक कार्यालय भक्तपुरकी सूचना अधिकारी इन्जिनियर विन्दु अधिकारीले बताउनुभयो । लगातारको वर्षाका कारण बीपी राजमार्गको काभ्रेस्थित चौकीडाँडादेखि बर्खे खोलासम्मको सडकखण्डमा ठूलो क्षति पुगेको उहाँले जानकारी दिनुभयो । प्राप्त विवरणअनुसार सो खण्डको विभिन्न १७ स्थानमा गरी कुल ३ हजार ४१० मिटर (३.४१ किलोमिटर) सडक बाढी र पहिरोले बगाएको इन्जिनियर अधिकारीले बताउनुभयो ।
बरखे खोलादेखि धुलिखेलसम्म खण्डमा सबैभन्दा बढी क्षति पुगेको छ भने सबैभन्दा बढी क्षति माम्ती खोला (४०० मिटर) र डाला बेंसी (४०० मिटर) सडक बगाएको छ । चौकीडाँडामा ३५० मिटर र सुक्खा पहिरो पिप्लेमा ३५० मिटर सडक बगाएको इन्जिनियर अधिकारीले बताउनुभयो । उहाँका अनुसार चारसय बेंसीमा २५० मिटर, तल्लो पिप्लेमा २३५ मिटर, माथिल्लो माम्तीमा २३० मिटर, माथिल्लो पिप्लेमा २२० मिटर, बोक्सी कुनामा २०० मिटर, गिमाटी बेंसीमा २०० मिटर, काल ढुंगा (भ्याकुरे खोला)मा १७५ मिटर, चिउरी बास झाङमा १७५ मिटर, कटुन्जे बेंसीमा १५० मिटर र नर्केमा ७५ मिटर सडक बगाएको छ ।
सडक अवरुद्ध भएसँगै यातायात सुचारु गर्न तीव्र गतिमा डाइभर्सन निर्माणको काम भइरहेको उहाँको भनाई छ । काभ्रे खण्डको ५ स्थानमा डाइभर्सन निर्माणको काम भइरहेको छ । असोज २२ गते साँझ ५ बजेसम्ममा कटुन्जे, डाला बेंसी र कालढुंगाको डाइभर्सन निर्माण कार्य सम्पन्न भइसकेको छ । चौकीडाँडामा सडक डाइभर्सन निर्माणका लागि काम जारी रहेकोले बुधबार राति ११ बजेसम्ममा सक्ने लक्ष्य राखिएको इन्जिनियर अधिकारीको भनाई छ । उहाँका अनुसार चारसय बेंसीमा काम भइरहेकोले शुक्रबार गतेसम्ममा सम्पन्न हुने अनुमान रहेको छ । बोक्सी कुना, भ्याकुरे, कालढुंगा र पिङथालीमा हाल डाइभर्सन निर्माणको काम जारी रहेको छ भने सडक संचालनका लागि काभ्रे खण्डमा मात्र १२ स्काभेटर, ४ लोडर र ५ टिपर संचालनमा रहेको छ ।
विपी राजमार्ग अन्तर्गतको सिन्धुली खण्डमा भने ३ स्थानमा सडकको डाभर्सन बगाएको छ । उक्त खण्डको नेपालथोकदेखि बर्खेखोलासम्म ३ स्थानमा सडकको डाइभर्सन बगाएको डिभिजन सडक कार्यालय सिन्धुलीका इन्जिनियर सुदर्शन उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुुसार अघिल्लो वर्षको विपद्ले क्षति पुगेको स्थानमा नै असोज १७ र १८ गतेको वर्षाका कारण आएको बाढीले क्षति पुगेको हो । सुनकोशी नदीमा आएको बढीका कारण विपी राजमार्गको नेपालथोकमा ४०० मिटर र बालुवा भन्ने स्थानको २ वटा खण्डमा ६०० मिटर गरेर १ किलोमिटर सडक बगाएको उहाँले बताउनुभयो ।
सडक बगाएको ३ वटै स्थानमा डाइभर्सन निर्माणको काम भइरहेको र बिहीबारसम्ममा सडक संचालनमा ल्याउने गरी काम भइरहेको उहाँले बताउनुभयो । नेपालथोकको डाइभर्सन निर्माणको काम अन्तिम चरणमा रहेको र बालुवाको एक खण्डमा पनि काम भइरहेकाले बिहीबारसम्ममा काम सक्ने लक्ष्य रहेको उहाँको भनाई छ । सो स्थानमा ४ स्काभेटर, ४ टिपर र एक÷एक वटा डोजर तथा लोडर संचालन गरेर सडक निर्माणको काम भइरहेको छ ।
