हेटौँडा : जेन जी आन्दोलनका क्रममा मन्त्रालयमा क्षती पुगेपछि बागमती प्रदेशको सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारीका विवरण पेश गर्न निर्देशन गरेको छ । मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै प्रदेश मातहत रहेका सहकारीहरुलाई वार्षिक विवरण पेश गर्न सूचना जारी गरेर निर्देशन गरेको हो ।
जेन–जी आन्दोलनका क्रममा बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयमा भएको तोडफोड र आगजनीका कारण महत्वपूर्ण अभिलेखहरु नष्ट भएको थियो । आगजनी र तोडफोर्डपछि मातहतका सबै सहकारी संघसंस्थाहरुलाई वार्षिक विवरण अद्यावधिक गर्न जरुरी निर्देशन जारी गरेको हो । आन्दोलनले निम्त्याएको यो संकट समाधान गर्न मन्त्रालयले आफ्ना सम्पूर्ण अभिलेखहरु पुनः संकलन गर्न लागेको सहकारी महाशाखाका रजिष्ट्रार प्रदिपराज पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत असोज २३ र २४ गते देशव्यापी रुपमा भएको जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले हेटौंडा–११, थानाभञ्याङस्थित मन्त्रालयको कार्यालयमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेको र उक्त घटनामा मन्त्रालयको भौतिक संरचनामा क्षति पुग्नुका साथै सहकारी संघ÷संस्था सम्बन्धी फाइल, विवरण र दस्ताबेजहरु जलेर नष्ट भएको उहाँले बताउनुभयो । फाइल तथा दस्तावेज जलेर नष्ट हुँदा मन्त्रालयको प्रशासनिक काममा गम्भीर चुनौती थपिएको उहाँले बताउनुभयो ।
अभिलेखहरू नष्ट भएपछि नियमनकारी कार्यमा परेको असरलाई मध्यनजर गर्दै मन्त्रालयले अभिलेख पुनः सङ्कलन गर्नुपर्ने आवश्यकता देखिएकाले सूचना जारी गरिएको उहाँको भनाई छ । प्रदेश सहकारी ऐन तथा नियमावली बमोजिम सहकारीहरुले आफ्ना प्रमाणित कागजातहरु अनिवार्य रुपमा पेश गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
मन्त्रालयले हाल हेटौंडा–२ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरबाट अस्थायी रुपमा सेवा सञ्चालन गरिरहेको र सोही स्थानमा विवरणहरु बुझाउन सम्पूर्ण सहकारीहरुलाई निर्देशन दिइएको छ । मन्त्रालयका अनुसार, सहकारीहरूले आर्थिक वर्ष २०८१÷८२ को साधारण सभाको उपस्थिति र निर्णयको प्रतिलिपि, बहालवाला तथा पछिल्ला दुई कार्यकालका सञ्चालक समितिहरुको फोटो र हस्ताक्षर सहितको तीन पुस्ते विवरण, नागरिकताको प्रतिलिपि, संस्थाको स्वीकृत विनियम र दर्ता प्रमाणपत्र, आर्थिक वर्ष २०७९÷८० र २०८०÷८१ को लेखा परीक्षण प्रतिवेदन, कर चुक्ता प्रमाणपत्र र कोपोमिस प्रणालीमा विवरण अद्यावधिक गरेको प्रमाण जस्ता कागजातहरु पेश गर्न भनिएको छ ।
