भारी वर्षासँगै पानीको सतह बढेको कुलेखानीको जलाशय ।

हेटौँडा : शनिबार र आइतबार भारी वर्षासँगै कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा पानीको सतह बढेको छ । मंगलबार दिउँसो ३ बजे कुलेखानी जलविद्युत आयोजनाको जालशयमा पानीको सतह १ हजार ५ सय ११ मिटर ३६ सेन्टिमिटर पुगेको छ । जलाधार क्षेत्रमा भारी वर्षासँगै बढ्न सुरु गरेको जलाशय अहिले पनि क्रमिकरुपमा बढिरहेको कुलेखानी जलविद्युत आयोजनाका अधिकारीले जानकारी दिएका छन् ।

भारी वर्षा भएसँगै शनिबार प्रतिघण्टा ३० सेन्टिमिटरसम्म बढेको थियो । कुलेखानी जलविद्युत आयोजना प्रथमका अधिकारीका अनुसार गत शनिबार दिउँसो १२ बजे जलाशयमा पानीको सतह १ हजार ५ सय ५ मिटर २५ सेन्टिमिटर मापन गरिएको थियो । भारी वर्षापछि जलाशयमा पानीको सतह ६ मिटर बढेको छ । यस वर्ष सुख्खा मौसममा कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा पानीको सतह १ हजार ४ सय ८४ मिटरसम्म पुगेको थियो । कुलेखानी जलविद्युत आयोजना १, २ र ३ गरी कुल १ सय ६ मेगावाट जडित क्षमता रहेको छ । गत वर्ष असोज ११ र १२ गतेको भारी वर्षाका कारण कुलेखानी जलाशयबाट पानी भरिएर ड्यामबाट छाड्नुपर्ने अवस्था आएको थियो ।

कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा समुद्री सतहतले १ हजार ५ सय ३० मिटरसम्म पानी जम्मा गर्न सकिन्छ । सो भन्दा बढी पानी संकलन भए ड्यामबाट पानी बाहिर फाल्नु पर्ने हुन सक्छ ।