हेटौँडा : बागमती प्रदेश सरकारले ४ जना उपसचिवको सरुवा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शिक्षा समूह तर्फका ४ जना उपसचिव (नवौं तह) का कर्मचारीको सरुवा गरेको हो ।
प्रमुख सचिव भुपाल बरालले ३ जना कार्यालय प्रमुख र एक जनालाई मन्त्रालयको महाशाखा प्रमुखमा सरुवा गरेका हुन् । प्रमुख सचिव बरालको निर्णय अनुसार सामाजिक विकास कार्यालय मकवानपुरमा कार्यरत गोपाल कँडेललाई शिक्षा निर्देशनालय बागमती प्रदेशको कामु महानिर्देशकमा सरुवा गरेको छ । ११ औैं तह (सचिव स्तरको) दरबन्दी रहेको उक्त कार्यालय कार्यरत खुविराम अधिकारीको गत साताको मन्त्रिपरिषद्को बैठकले सहकारी तथा गरिवी निवारण मन्त्रालयको सचिवमा सरुवा गरेपछि सो स्थान रिक्त रहेको थियो ।
यसअघि कँडेल कार्यरत रहेको सामाजिक विकास कार्यालय मकवानपुरको प्रमुखमा सूर्य बहादुर दाहाललाई जिम्मेवारी दिइएको छ । दाहाल कार्यरत युवा तथा खेलकुद मन्त्रालयको महाशाखामा लोक बहादुर वाईबाको सरुवा गरिएको छ । वाईबा यसअघि सामाजिक विकास कार्यालय धादिङ गजुरीमा कार्यरत थिए । उक्त कार्यालयमा युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको प्रदेश युवा परिषद्मा कार्यरत रमेश घिमिरेलाई जिम्मेवारी तोकिएको छ ।











