कर्मचारी सञ्चयकोषको क्षतिग्रस्त भवन ।

हेटौंडा : देशव्यापी जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले हेटौंडामा रहेको कर्मचारी सञ्चयकोष भवनमा पनि ठूलो क्षति पुगेको छ । भदौ २४ गते भएको तोडफोड र आगजानीमा हेटौंडा–४ स्थित कर्मचारी सञ्चयकोष भवनको भुइँतला पूर्णरुपमा जलेर नष्ट भएको छ । भवनको माथिल्लो तल्ला, कार्यालय प्रमुखको निवास, गार्ड क्वाटर र क्यान्टिनमा आंशिक क्षति पुगेको छ ।

आगजनीबाट कार्यालयकासवारी साधनहरुमा पनि क्षति पुगेको छ । कार्यालयमा रहेका एउटा कार, एउटा मोटरसाइकल, दुईवटा स्कुटी र गार्डको एउटा साइकल पूर्णरुपमा जलेर नष्ट भएको कार्यालयका उप–प्रबन्धक गौरीशंकर मल्लले बताउनु भयो । आगजनीबाट कार्यालयका १२ वटा कम्प्युटर, ७ वटा प्रिन्टर, २ वटा स्क्यानर र १७ वटा सीसीटीभी क्यामेरा पनि जलेका छन् । आगजनीपछि अहिले कार्यालयमा आंशिकरुपमा केवाईसी अपडेट र औषधि उपचार बिमा दावीसम्बन्धी कामहरु मात्र भइरहेको मल्लले जानकारी दिनुभयो ।

सोही घटनामा सञ्चयकोष परिसरभित्र रहेका राष्ट्रिय परीक्षा बोर्डको एउटा चार पाङ्ग्रे गाडी र प्रदेश लोकसेवा आयोगको एउटा स्कोर्पियो जिप पनि जलेर नष्ट भएको छ । कर्मचारी सञ्चयकोष हेटौंडाले असार २८ गतेदेखि मात्रै आफ्नो नयाँ भवनबाट सेवा सुरु गरेको थियो । एक वर्षभित्र भवनमा केही भयो भने त्यसकोे क्षति निर्माण कम्पनीले व्यहोर्ने सम्झौता छ । त्यसैगरी जलेका उपकरणहरुको पनि क्षति बीमा कम्पनीले व्यहोर्ने उपप्रबन्धक मल्लको भनाइ छ ।

जलेको भवनबाट पूर्णरुपमा सेवा दिन तत्काल सम्भव नभएकाले कार्यालय सञ्चालनका लागि उपयुक्त ठाउँको खाजी भइरहेको उपप्रबन्धक मल्लले जानकारी दिनुभयो । देशका विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी भएसँगै कर्मचारी सञ्चयकोषको शाखा कार्यालय विराटनगरमा पनि तोडफोड र आगजनी भएको थियो ।