‘नव कोपिला’ बाल पत्रिकाको पुनः प्रकाशनपछि आइतबार सार्वजनिक गर्दै विद्यालय परिवार ।

हेटौँडा : हेटौँडा–५ स्थित रिलायन्स इंग्लिस सेकेण्डरी बोर्डिङ स्कूलका विद्यार्थीको सक्रियतामा बाल पत्रिका ‘नव कोपिला’ पुनः प्रकाशनमा आएको छ । आइतबार विद्यालय परिसरमै पत्रकार सम्मेलनको आयोजना गरेर नयाँ अंक लोकार्पण गरिएको छ ।

२०५४ सालमा प्रकाशन सुरु गरिए पनि नियमित हुन नसकेको द्वैमासिक पत्रिका कक्षा १० मा अध्ययनरत छात्रा युनिषा बर्तौलाको प्रधान सम्पादकत्वमा प्रकाशन सुरु भएको हो । प्रधान सम्पादक बर्तौलाले पत्रिकालाई नियमित प्रकाशन गर्ने जनाउनुभयो । यसअअघि १३ अंक मात्रै प्रकाशित पत्रिकाका संरक्षण एवम् विद्यालयका संस्थापक प्रिन्सीपल केशवलाल श्रेष्ठले विद्यार्थीको प्रतिभा प्रष्फुटनका लागि बाल पत्रिका प्रकाशन सुरु गरिएको बताउनुभयो । उहाँले विद्यालयमा विद्यार्थीले अक्षर पढ्नु र लेख्नु मात्र नभई प्रत्येक बालबालिका भित्र लुकेको प्रतिभालाई उजागर गर्नु पनि हो भन्ने मान्यताका साथ यस पत्रिकालाई पुनः प्रकाशनमा ल्याइएको बताउनुभयो ।

असोज अंकमा विद्यार्थीसँगै शिक्षकका रचना पनि पत्रिकामा प्रकाशन गरिएको छ । ‘नव कोपिला’ बाल पत्रिका विद्यार्थी, अभिभावक र शिक्षकहरूको सामूहिक सहयोग र सहकार्यमा प्रकाशन भएको हो । यसले बालबालिकाहरूमा पठन संस्कृति विकास गर्न र उनीहरूको सिर्जनात्मक क्षमतालाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।