बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवम् नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले राजनीतिक दलहरु सच्चिनुपर्ने बताएका छन् । हालै भएको जेन–जी युवाहरुको आन्दोलन र जनअसन्तुष्टिको जिम्मेवारी प्रमुख राजनीतिक दलहरुले लिएर दलहरुले आफैँलाई नसच्याए देशले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । पूर्वमुख्यमन्त्री जम्कट्टेलले दलहरु सच्चिनुपर्ने भने पनि वास्तवमा दल होइन, नेताहरु सच्चिनुपर्ने आवश्यकता छ । मुलुकका सबै राजनीतिक दलहरु सैद्धान्तिकरुपमा ठिक छन् । कतिपय राजनीतिक दलहरुले वर्तमान संविधान र विद्यमान शासन व्यवस्थाभन्दा फरक विचार र सिद्धान्त अंगीकार गरे पनि दलहरु आफैँमा गलत होइनन् । गलत त नेतृत्वको कार्यशैली हो ।
जननिर्वाचित संविधानसभाले संविधान जारी गरेको दश वर्ष पूरा भएको छ । त्यही संविधान जारी भएको दिनको स्मरणमा संविधान दिवस मनाउने क्रममा बागमती प्रदेश सरकारले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी नेता जम्कट्टेलले दलहरु सच्चिनुपर्ने भने पनि उनकै दलका शीर्ष नेतृत्व सच्चिने लक्षण छैन । संघ र प्रदेश सरकारमा आलोपालो नेतृत्व गरिरहेको माओवादी, एमाले, कांग्रेस तीनवटै दलका शीर्ष नेतृत्व आफू सच्चिन चाहँदैनन् । सात दशक उमेर पूरा भइसकेका, दशकौं दलको नेतृत्व लिएका र बारम्बार प्रधानमन्त्री बनेर असफल भएका शीर्ष नेतृत्वमा अझै नेतृत्व हस्तान्तरण गर्न चाहँदैनन् । दलको नेतृत्व दिन दोस्रो र तेस्रो पुस्ताका नेताहरु नै तयार छन् । कांग्रेसका केही नेताले महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्ने विचार व्यक्त गरे पनि एमाले र माओवादीमा ओली र प्रचण्डको विकल्पमा बोल्न नेताहरु नै तयार हुन सकेका छैनन् ।
दुई दिनको सडक आन्दोलनबाट एक हिसाबले देश नै उथलपुथल बन्यो । आन्दोलनकै कारण नसोचेको जनधनको क्षति भयो । केपी ओली नेतृत्वको सरकार ढल्यो । संसद विघटन भयो । ६ महिनाभित्र संसदीय निर्वाचनको कार्यभार लिएर अन्तरिम सरकार बनेको छ । प्रमुख तीन दलका नेताहरु अन्तरिम सरकार गठन र संसद विघटन प्रक्रियालाई असंवैधानिक भनिरहेका छन् । संविधान नै खारेज गर्ने अवस्थामा पुगेको आन्दोलन रोक्न र तत्काल जेन–जी युवाको असन्तुष्टि कम गर्न बाध्यात्मक अवस्थामा संसद विघटन गर्नुपरेको यथार्थ पुराना राजनीतिक दलहरुले स्वीकार गर्न सकेका छैनन् । दशकौं सत्तामा बसेर स्वार्थ पूरा गरेका दल र तिनका नेतृत्वले अहिलेको परिवर्तनलाई नस्वीकार्नु कुनै नौलो होइन ।
आन्दोलनको मर्म र भावनाअनुसार चल्न खोज्ने साहस प्रमुख तीन दलका शीर्षदेखि तल्लो तहसम्मका नेतृत्वले देखाउनु आवश्यक छ । जेन–जी युवाको आन्दोलन र त्यस क्रममा भएको घटनाक्रमको पछाडि देशी विदेशी शक्ति लागेको कतिपय नेतृत्वको भनाइ सार्वजनिक भइरहेको छ । आन्दोलनको सुरुवात जेन–जी युवाले गरे पनि दोस्रो दिनको विध्वंश उनीहरुबाट मात्र नभएको धेरैको अनुमान छ । आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी, लुटपाटजस्ता घटनामा सबै पक्षको संलग्नता देखिनुले सबैले आ–आफ्नो कमजोरी स्वीकार्नै पर्छ । अहिले संविधानले भनेको भन्दा फरक बाटोबाट सरकार बने पनि त्यो संविधानकै बाटोमा चल्ने हो । प्रमुख दलका नेतृत्वले आन्दोलनको सुरुवात र अकल्पनीय घटना कसरी भयो होइन, किन भयो भन्नेतर्फ गम्भीर भएर समीक्षा गर्नुपर्छ । सच्चिने कि सक्किने भन्ने कुरा नेतामा नै भरपर्छ ।











