Home मुख्य समाचार बागमतीका सभामुख पाठकले पठाउनुभयो ह्वाट्स एप मार्फत् राजीनामा पत्र

बागमतीका सभामुख पाठकले पठाउनुभयो ह्वाट्स एप मार्फत् राजीनामा पत्र

बागमतीका सभामुख भुवन कुमार पाठकले ह्वाट्स मार्फत् पठाउनुभएको राजीनामा पत्र ।

हेटौँडा : सामाजिक सञ्जालबाट राजीनामा घोषणा गर्नुभएको बागमती प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले ह्वाट्स एप मार्फत् आधिकारिक पत्र पठाउनुभएको छ । आफ्नो पदबाट राजीनामा दिँदै उपसभामुख अप्सरा चापागाईलाई ह्वाट्स एप मार्फत् पत्र पठाउनुभएको हो ।

सभामुख पाठकले नेपालको संविधान र प्रदेश सभा नियमावली, २०७४ बमोजिम उपसभामुख समक्ष आज बुधबार आफ्नो राजीनामा पत्र पठाउनुभएको हो । गत भदौ २३ गते भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनमा अस्वाभाविक बल प्रयोगबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै भदौ २४ गते नै सामाजिक सञ्जालमार्फत उहाँले राजीनामाको घोषणा गर्नुभएको थियो । राजीनामा घोषणा गरेपनि उहाँले औपचारिक पत्र भने पठाउनुभएको थिएन । पाठकले तत्कालिन समयमा प्राविधिक कारणले कानूनी प्रक्रिया पूरा गर्न अनुकूल नभएकाले पत्र नबुझाएको बताउनुभयो । सबै प्रक्रिया पूरा गरेर आज औपचारिक रुपमा राजीनामा पत्र बुझाएको उहाँले बताउनुभयो ।

राजीनामा पत्रमा उहाँले उक्त घटनाले आफूलाई अत्यन्त भावविह्वल बनाएको र राष्ट्र शोकमा डुबेको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावनाविपरीत पदमा बसिरहनु उचित नलागेको उल्लेख गर्नुभएको छ । उहाँले राजीनामा पत्रको बोधार्थ प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेशसभा सचिवालयलाई पनि दिनुभएको छ ।

पाठक राप्रपाको समानुपातिक कोटाबाट बागमती प्रदेशसभा सदस्य भएर २०७९ पुस २८ मा एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीको सहयोगमा ६४ मत सहित सभामुख निर्वाचित हुनु भएको थियो ।

Exit mobile version