हेटौँडा : गत भदौ २० गतेका दिन मकवानपुरको बकैया गाउँपालिका–५, गरगरेमा आफ्नै घरमा लागेको आगो निभाउने क्रममा घाइते भएका ४५ वर्षीय लिलाराम जिम्बाको उपचारको क्रममा मंगलबार राती मृत्यु भएको छ । काठमाडौस्थित कीर्तिपुर जलन अस्पतालमा उपचाररत जिम्बाको मृत्यु भएको हो ।
आगलागीका कारण जिम्बाको २ करोड रुपैयाँ बराबरको क्षति भएको थियो । बकैया–५, गरगरेस्थित जिम्बाको किराना पसलमा आगलागी हुँदा नगद १५ लाख रुपैयाँसहित २ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको थियो । आगलागीबाट जिम्बाको २ तल्ले पक्की घरमा रहेको किराना पसल पूर्णरुपमा क्षति पुगेको छ ।
आगो निभाउने क्रममा जिम्बाको दुवै हात र खुट्टा जलेको थियो । जिम्बालाई तत्काल उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो भने थप उपचारका लागि कीर्तिपुरस्थित जलन अस्पताल लगिएको थियो ।
