जेन–जी युवाले भदौ २३ गते गरेको प्रदर्शन र २४ गते भएको विध्वंशले मुलुकको राजनीतिमा ठूलो उथलपुथल ल्याएको छ । जेन–जी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत अन्य केही दल र तिनका नेताको सातो उडायो । दलका कार्यालय र नेताका घर आन्दोलनकारीले तोडफोड तथा आगजनी गरे । संघीय सरकारको नेतृत्व गरेको एमाले र साझेदार कांग्रेससँगै यसअघि सरकारको नेतृत्व गरेको माओवादी पनि आन्दोलनकारीको निशानामा पर्‍यो । नेकपा एकीकृत समाजवादी र केही मधेशवादी दलका शीर्ष नेताको निवास पनि आन्दोलनको क्रममा क्षति पुगेको छ । आन्दोलनमा रास्वपा, राप्रपा तथा अन्य साना दल र तिनका नेता भने सुरक्षित रहेका छन् ।

भ्रष्टाचारको बिरोधमा सुरु भएको जेन–जीको आन्दोलनका क्रममा बारम्बार सरकारको नेतृत्व गरेका ठूला दलमाथि आक्रोश पोखिएको छ । यो आक्रोशले दशकौंदेखि दलको नेतृत्वमा रहेकाको विकल्प खोज्नुपर्ने संकेत गरेको भए पनि दलहरु तयार देखिएका छैनन् । आन्दोलनकै कारण राजीनामा दिएका नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अझै सार्वजनिक भएका छैनन् । उनी सेनाको सुरक्षामा रहेको बताइएको छ । एमालेका केही नेताले अध्यक्ष ओलीको विकल्पबारे बोल्न थाले पनि उनको अनुपस्थितिमा औपचारिक छलफल हुन सकेको छैन । घरमा आगजनी गर्न आएका आन्दोलनकारीबाट कुटाइ खाएपछि कांग्रेस सभापति देउवा पनि सेनाकै ब्यारेकमा उपचार गराइरहेका छन् । सभापति ठिक भएर नफर्किंदासम्म कांग्रेसमा पनि नेतृत्व परिवर्तनको विषयले औपचारिकता नपाउने निश्चित छ । सेनाको सुरक्षाबाट बाहिर निस्किएर क्षतिग्रस्त पार्टी कार्यालय तथा निवास अवलोकन गरेका माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी अध्यक्ष माधव नेपालले पनि नेतृत्वको विषयमा कुनै छलफल सुरु गरेका छैनन् ।

राजनीतिक दलको नेतृत्व परिवर्तन र कार्यशैलीमा व्यापक परिवर्तन आन्दोलनको म्याण्डेट र आम नागरिकको अपेक्षा हो । राजनीतिक दलहरुको केन्द्रीय तहमा कुनै छलफल र निर्णय नहुँदा मातहतका कमिटीहरु पनि अन्योलमा परेका छन् । मकवानपुरका राजनीतिक दलहरु पनि अब के गर्ने भन्नेमा अलमल देखिएका छन् । केन्द्रबाट कुनै निर्देशन नआएकोले कांग्रेस मकवानपुर पर्ख र हेरको अवस्थामा रहेको छ । कांग्रेस मकवानपुर अहिले क्षतिग्रस्त कार्यालयको व्यवस्थापनमा सीमित बनेको छ । नेकपा एमाले मकवानपुर पनि क्षतिग्रस्त जिल्ला कार्यालय सरसफाइ गरेर केन्द्रको निर्देशन पर्खिरहेको छ । नेकपा माओवादी केन्द्र पनि यतिखेर कुनै कार्यक्रमको तयारीमा छैन । जिल्ला समितिले केन्द्रबाट सिर्जित परिवेशलाई नै सहमत गरेर अघि बढेको जनाएको छ । माओवादी मकवानपुरले केन्द्रकै नीतिअनुरुप आफ्ना क्रियाकलाप अघि बढाउने जनाएको छ भने रास्वपा मकवानपुर पनि पर्ख र हेरको अवस्थामा रहेको छ ।

मुलुकको दलीय राजनीतिक अवस्था नै उथलपुथल बनाएको जेन–जी आन्दोलनले उल्लेख्य परिवर्तन र सुधार ल्याउने अपेक्षा आम नागरिकले गरेका छन् । सबैजसो दलका अधिकांश कार्यकर्ताहरु पनि नेतृत्व सच्चिनुपर्नेमा सहमत देखिएका छन् । कांग्रेस, एमाले तथा माओवादीको शीर्ष नेतृत्वले राजनीतिक विश्राम लिनुपर्ने मान्यता तल्लो तहका नेता तथा कार्यकर्ताको भए पनि शीर्ष नेतृत्व नै पीडामा रहेकाले आवाज उठाउन नसकेको हुनसक्छ । अन्तरिम सरकारसँगै निर्वाचन मिति तय भए पनि दलहरु के गर्ने र कसरी अघि बढ्ने भन्ने निर्णयमा पुग्न सकेको छैन । केन्द्रमा छलफल तथा निर्णय गर्ने वातावरण नबन्दासम्म दलहरु अलमलमै रहने निश्चित छ ।