दुर्घटनाग्रस्त नेपाली सेनाको ट्रक ।

हेटौँडा : त्रिभुवन राजपथको हेटौँडा–पथलैया सडकखण्डअन्तर्गत मकवानपुर र बाराको सीमानामा पर्ने चुरियामाई मन्दिर नजिकै नेपाली सेनाको ट्रक दुर्घटनामा परी घाइते भएका ६ जनालाई उपचारका लागि काठमाडौं लगिएको छ ।

तनहुँबाट धनुषातर्फ जाँदै गरेको नेपाली सेनाको राजदल गणको टोली सवार लु १ ग २८० नम्बरको ट्रक मंगलबार दिउँसो २ बजेर ५० मिनेटको समयमा दुर्घटना हुँदा गम्भीर घाइते भएका ३ सहित ६ जनालाई नेपाली सेनाले हेलिकप्टरमार्फत मंगलबार साँझ काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

प्रहरीले घाइते प्रहरीको विवरण भने उपलब्ध गराउन सकेन । २२ जना सवार ट्रक दुर्घटना हुँदा १७ जना घाइते भएका थिए । घाइते मध्ये ८ जना हेटौँडा अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् भने ३ जना हेटौँडा अस्पतालमै उपचाररत छन् । दुर्घटनाको कारण यकिन नभएको र तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रवक्ता अर्यालले बताउनुभयो ।