हेटौँडा : साहित्यकार छवी अनित्यको चौथो कृति प्रकाशित भएको छ । उहाँको चौथो कृतिको रुपमा बालबालिकाका लागि ‘महाभारत’ पुस्तक प्रकाशन भएको हो । पूर्वीय साहित्यको महानतम् ग्रन्थ महाभारतका पौराणिक पात्रहरुसँग परिचित गराउने उद्देश्यले यो पुस्तक तयार पारिएको उहाँको भनाइ छ ।
पुस्तकमा सरल भाषामा महाभारतका १८ वटै पर्वको मूल कथालाई संक्षेपमा वर्णन गरिएको छ । विद्यालय तहका ६ कक्षादेखि माथिका बालबालिकाहरुका लागि उपयोगी हुने भाषाशैलीमा लेखिएको पुस्तकमा रवि मिश्रले चित्र तयार पार्नु भएको छ । चित्रले बालबालिकालाई पढ्न सहज र आकर्षक बनाउने लेखक अनित्यले बताउनु भयो । महाभारत अध्ययनले बालबालिकालाई पौराणिक कथाको ज्ञान आर्जनमा सहयोग पुग्ने विश्वास लेखकको छ । पुस्तक कलम प्रकाशनले प्रकाशन गरेको हो ।
यसअघि छवीका तीन वटा कृति प्रकाशन भइसकेको छ । २०७१ सालमा कविता संग्रह ‘हल्ला’, २०७८ सालमा कविता संग्रह ‘तुइनको बाटो’ प्रकाशन भएको थियो । त्यसैगरी २०७९ सालमा ‘शिक्षकको भाषा’ शैक्षिक निबन्ध प्रकाशन भएको थियो । लेखक संघ मकवानपुरका अध्यक्ष समेत रहनुभएका छवी हेटौँडा–४, भैरवरोडस्थित किताबघरका सञ्चालक समेत हुनुहुन्छ ।











