हेटौंडाः हेटौंडा–१६, हटियास्थित जनप्रिय माध्यमिक विद्यालयले एकदिने भर्चुअज साहित्य सम्मेलनको आयोजना गरेको छ । गद्य कविता लेखनका बारेमा विद्यार्थीहरुलाई प्रशिक्षित गर्ने उद्देश्यले भर्चुअल साहित्य सम्मेलनको आयोजना गरिएको हो । साहित्य सम्मेलनमा कक्षा ८, ९ र १० का २२ जना विद्यार्थीले सहभागिता जनाएका थिए । भएको उक्त कार्यक्रममा साहित्यकार सुवास खनालले सहजीकरण गर्नुभएको थियो ।
करिब तीन घण्टा सञ्चालन भएको भर्चुअल सम्मेलनमा सहभागी विद्यार्थीले गद्य कविता रचनाका नियम, लेख्ने तरिकाका विषयमा जिज्ञासा राखेका थिए । सम्मेलनमा सहभागी विद्यार्थी मेनुका दाहाल र रेजिना उप्रेतीले तत्कालै कविता रचना गरेर वाचन समेत गरेका थिए । विद्यार्थीको रचनात्मक क्षमता विकासका लागि जनप्रिय माविले यसअघि पनि रचनात्मक लेख र कोभिड–१९ का विषयमा भर्चुअल सम्मेलन गरिसकेको छ । गद्य कविता लेखनमा क्रियाशील सर्जक खनाल मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरका पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।
हेटौंडा उपमहानगरको ग्रामीण क्षेत्रको विद्यालय भए पनि विद्यार्थीको सहभागिता र विद्यालयको अग्रसरता सराहनीय छ । विद्यार्थीको सिर्जनात्मक क्षमता अभिवृद्धिका निम्ति साहित्य सम्मेलन गरिएको जनप्रिय माविका अंग्रेजी माध्यमका संयोजक कैलाश धितालले बताउनु भएको छ । आगामी दिनमा विद्यार्थीका लागि उपयोगी विषयमा कार्यक्रम आयोजना गरी फरक–फरक विधाका व्यक्तिहरूलाई ल्याएर थप प्रभावकारी बनाउँदै लैजाने उहाँले बताउनुभयो ।
साहित्य सम्मेलनले विद्यार्थीमा थप अभिप्रेरणा प्रदान भएको र यस्तो कार्यक्रम आयोजना हुनुपर्ने विद्यालयका प्रविधि संयोजन शिक्षक रविन श्रेष्ठले बताउनुभयो । विद्यालयका प्रधानाध्यापक नमराज अर्याल र व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ चौलागाईँले यस्ता कार्यक्रम आयोजना गर्न विद्यालय सधैँ तत्पर रहेको बताउनु भयो । कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका सचिव डिबी बर्तौलाको पनि सहभागिता रहेको थियो र विद्यार्थीहरू उत्साहित रहेको प्रतिक्रिया उनीहरूबाट प्राप्त भएको थियो ।