हेटौँडा : देशव्यापी रुपमा चर्किएको ‘जेन जी’ आन्दोलनको प्रभाव बागमती प्रदेशको राजधानी हेटौँडामा पनि देखियो । आन्दोलन हिंसात्मक बनेन तर, विध्वंश मचाउन भने कुनै कसर बाँकी रहेन । प्रदर्शनकारीले राजधानीमा रहेका अधिकांश सरकारीसहित नीजि सम्पत्तीमा तोडफोड गरे । भ्रष्ट्राचार तथा सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धको विरोधमा उत्रिएका प्रदर्शनकारीहरुले हेटौँडाका विभिन्न सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी गरेका थिए ।
भदौ २३ गते भएको प्रदर्शन शान्तिपूर्ण रहेपनि २४ गते भने निकै उच्छृंखल गतिविधि भए । हेटौँडामा भएको प्रदर्शनले उग्र रुप लिँदा प्रदर्शनकारीहरूको निसानामा सरकारी संरचनाहरु परे । तर, बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भने खासै क्षति व्यहोर्नु परेन । कार्यालयको चमेना गृहका केही सिसाहरुमा क्षति पुगेपनि प्रशासकीय भवनमा क्षति पुगेको छैन ।
प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय मकवानपुरसँगै रहेको मुख्यमन्त्रीको कार्यालयमा क्षति पु¥याएका छैनन् । प्रशासन कार्यालयको सुरक्षाका लागि बाक्लो मात्रामा खटिएका प्रहरी र सेनाको टोलीले भवनलाई सुरक्षा प्रदान गरेका थिए । पटक–पटक प्रशासन कार्यालय र मुख्यमन्त्री कार्यालय तोडफोडका लागि आक्रमक रुपमा अघि बढेका प्रदर्शनकारीहरुलाई सुरक्षाकर्मीले रोक्न सफल भए । सोही कारणले मुख्यमन्त्री कार्यालयको कम्पाउड भित्र नै रहेको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा पनि क्षति पुगेको छैन । प्रशासन कार्यालयसँगै रहेको मकवानपुर जिल्ला अदालत र शहरी विकास तथा भवन कार्यालय मकवानपुरमा भने प्रदर्शनकारीले तोडफोडसहित आगजनी गरे ।
प्रदर्शनकारीले सुरुवातदेखि नै हेटौँडा उपमहानगरपालिकाको भवनलाई लक्षित गरी ढुंगामुढा प्रहार गरेका थिए । ढुंगामुढाबाट कार्यालयको अगाडिको गेट, पर्खाल र भवनका सिसाहरूमा क्षति पुगेको छ । प्रदर्शनको क्रममा आन्दोलनकारीहरुले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पार्नुका साथै मकवानपुरका केही नेताहरूको निजी निवासमा समेत आगजनी गरेका थिए । प्रदर्शनकारीको आक्रमणबाट हेटौँडाका अधिकांश सरकारी संरचनाहरु ध्वस्त पारेका छन् । आन्दोलनका क्रममा मकवानपुरमा रहेका प्रदेश र जिल्लाका विभिन्न सरकारी, सार्वजनिक तथा निजी संरचनाहरु खण्डहरमा परिणत भएका छन् ।










