Home मुख्य समाचार आज साँझबाट गौरिटारको आइसोलेसन वार्ड सञ्चालनमा आउने

आज साँझबाट गौरिटारको आइसोलेसन वार्ड सञ्चालनमा आउने

हेटौंडाको गौरिटारको पुरुष छात्राबासमा आइसोलेसन वार्ड निर्माण गर्न सहयोग गर्दै नेपाली सेना

हेटौंडाः हेटौंडाको गौरिटार रंगशालाको पुरुष छात्राबासमा बन्दै गरेको आइसोलसन वार्ड आज साँझबाट सञ्चालनमा ल्याउने तयारी गरिदै छ । हेटौंडा अस्पतालले निर्माण गर्दै गरेको उक्त आइसोलेसन वार्डमा ८० बेड हुने हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रविण श्रेष्ठले बताउनुभयो । आजैदेखि सञ्चालनमा ल्याउने गरी तयारी भैरहेको उहाँको भनाइ छ । नेपाली सेना, प्रहरी लगायतले पनि सहयोग गरिरहेको उहाँले बताउनुभयो ।

हेटौंडा अस्पतालले सञ्चालन गरेको हेटौंडा–४ कर्रास्थित श्रमिक माविको आइसोलेसन वार्डमा बेड भरिपछि कोरोना संक्रमितहरु घरमै बस्दै आएका छन् । अहिले कर्राको आइसोलेसन वार्डमा ४० जना कोरोना संक्रमितहरु बसेका छन् । हेटौंडा अस्पतालले हालको लागि गौरिटार र कर्रा दुवै स्थानमा आइसोलेसन वार्ड सञ्चालन गर्ने भएको हो ।

आज बिहान मात्रै मकवानपुरका ३५ जनामा कोरोना पुष्टि भएको छ । अझै धेरै नमूनाको कोरोनाको रिपोर्ट आउन बाँकी छ । आज साँझ देखि गौरिटारको आइसोलेसन वार्ड सञ्चालनमा आएमा बिहान पोजेटिभ आएका सबै र होम आइसोलेसनमा बसेकाहरुलाई त्यहाँ राखिने भएको हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रविण श्रेष्ठले बताउनुभयो । हेटौंडा अस्पतालले अहिले गौरिटारको आइसोलेसन वार्डको प्रमुखको जिम्वेवारी डा. सागर काफ्लेलाई दिएको छ ।

Exit mobile version