
हेटौँडा : जेन जी युवाको आन्दोलनको क्रममा विद्यार्थीसँग विभेदपूर्ण अभिव्यक्ति दिनुभएकी हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले माफी माग्नुभएको छ । जेन जी आन्दोलनको क्रममा भदौ २३ गते दिउँसो विद्यार्थीसँग हेटौँडा उपमहानगरवासी नभएको भन्दै नगरवासी विद्यार्थीसँग मात्रै कुरा गर्छु भन्ने अभिव्यक्ति दिनुभएकी नगरप्रमुख लामाले आफ्नो अभिव्यक्तिबाट विद्यार्थीहरुको चित्त दुख्न गएको भन्दै माफी माग्नुभएको छ ।
जेन जी आन्दोलनको क्रममा हेटौँडा उपमहानगरपालिकाको कार्यालय अगाडि भेला भएका विद्यार्थीमध्ये मधेशका एक विद्यार्थीले कुरा राख्न खोज्दा नगरप्रमुख लामाले ती विद्यार्थीलाई देखाउँदै ‘तिमी हेटौँडा होइनौं, म हेटौँडाको जनतासँग मात्रै कुरा गर्छु । तपाइँ आफ्नो ठाउँमा कुरा गर्नुस् । हेटौँडाका विद्यार्थीप्रति मात्र मेरो जिम्मेवारी हो ।’ नगरप्रमुख लामाले मधेशका विद्यार्थीलाई ‘तिमीले मलाई चिनेको छौ ?’ भन्दै प्रतिप्रश्न समेत गर्नुभएको थियो ।
नगरप्रमुख लामाको अभिव्यक्ति लगत्तै तीव्र आलोचना भएको थियो । जेन जी आन्दोलनका क्रममा भदौ २४ गते हेटौँडा उपमहानगरपालिकामा तोडफोड समेत भयो ।










