नेपालका युवा जेनजीद्वारा भ्रष्ट्राचारको विरुद्धमा सुरु गरिएको यस आन्दोलनमा २०८२ भाद्र २३ गते १९ जना युवाले ज्यान गुमाए भनेको सुन्दा शरीर नै काँपेको थियो । आफ्नो कार्यक्षेत्रमा उभिएर काम गर्न गाह्रो भएर थचक्क कुर्सीमा बस्न पुगेको थिएँ म । बिहान विद्यालय र कलेज हिँडेका छोराछोरीको शरीर रक्ताम्य भएर अस्पतालमा जीवन र मृत्युको दोसाँधमा कृत्रिम साससँग सङ्घर्ष गरिरहेका दृश्यले मन मुटु काँप्यो । आँखा अश्रुले भरिए । हो क्रान्ति नगरी शान्ति आउँदैन । तर, ती कलिला भर्खर फक्रिन लागेका कोपिला निमोठिएर मुर्झाउन आवश्यक थियो र ? ती नेपाली आमाको कोख रित्याउन जरुरी थियो र ? सत्ता र कुर्सीको मोहमा लुप्त भ्रष्टहरुले ती युवाका छात्ती र माथमा गोली प्रहार गरी आफ्नो अस्तित्व जोगाउन आवश्यक थियो र ? अनेकौँ प्रश्नहरुले आफैँलाई खोतलिरह्यो ।
प्रश्नै प्रश्न, छटपटाई, दिक्कोपनले जेनतेन दिन त कट्यो । सामाजिक सञ्जालमा जताततै सजिएका ती मृत तस्वीरले रात काट्न मुस्किल गरायो । झल्लली आँखामा घुमिरहने ती अनुहार, ती निर्दोश आँखा, रगतले होली खेलेको शरीर उफ, कस्तो कालो दिन ? यो कालो दिन जेनजी ल्याएको हो कि ? भ्रष्टहरुले ? या भ्रष्ट र जेनजीको नाममा अरु कसैले ? उत्तरको खोजीमै आधा रात कट्यो तर उत्तर आएन । खुकुरीको चोट अचानोले मात्र अनुभव गर्न सक्छ भने जस्तै नेपाली आमाको पीर कसले अनुभव गर्न सक्ने ?
भोलिपल्ट २०८२ भाद्र २४ गते नयाँ बिहानीले नयाँ दिनको सुरुवात गरेसँगै देशको मुहार फेर्न, देशमा हुने गरेको नराम्रा व्यवस्था र नीति फेर्न, नैतिकता र वैधानिकता कायम गर्न युवाहरु जोसिएका थिए । सडकमा उत्रिएका थिए । २०६२/६३ को जनआन्दोलन फेरि फर्किएर नयाँ इतिहास लेख्नेछ । नेपालले नयाँ भविष्य कोर्ने छ भनेर सबै नेपालीले आश गरेका थिए । आशा निराशामा बदलिएको थिएन । आन्दोलनमा होमिएका युवामाथि तिम्रो घर यहाँ होइन, तिमीले आन्दोलन गर्न मिल्दैन आफ्नै ठाउँ जाउ भनेर ठाडो आदेश दिँदै पहाडि र मधेसी छुट्याउने, नेपालीलाई नेपाली नमान्ने झोलेहरुलाई ठिक भयो । कर्म अनुसारको फल भने झैँ भ्रष्टहरुको घर–घरमा युवा पुगे, उनीहरुमाथि कुटपिट गरे, घर जलाइयो, ती भ्रष्टहरुको अहम्, घमण्ड, मान, सम्मान सबै जलाएर खरानी बनाइयो, केही भ्रष्टहरु डरले भूमिगत भए ।
त्यो स्वभाविक र आवश्यक पनि थियो । सब नेपाली खुसीले गद्गद् भए । भ्रष्टहरुको घरबाट हामी जनताबाट लुटिएका पैसा उडाइयो, किला का किला सुन बरामद गरियो । हजुरबाउ, बाउले गर्न नसकेका काम जेनजी यानिकी नातिको पुस्ताले गरेको थियो । केही वर्ष अगाडि भूपी शेरचेनले ‘हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपूत मरेर नगए’ भन्ने सृजनाले वास्तविकताको मूल्य पाएको थियो । देशका लागि बलिदान दिएका युवाका आत्मा मुस्कुराएका थिए । कोख रित्तिए पनि देशका लागि बलिदान दिएका छोरा मुस्कुराएपछि ती आमाहरु पनि मुस्कुराउने कोसिस गर्दै थिए । सब नेपाली खुसीले गद्गद् भएका थिए ।
यो सत्य हो विनाश नभई विकास हुँदैन । तर, यस्तो परिस्थितिको निर्माण बन्दै गयो कि युवाहरुको आन्दोलन चरम उत्कर्षमा पुग्यो, विश्राम लिनुपर्ने आन्दोलन चर्किँदै गयो । उनीहरुले जोशमा होस गुमाए । राज्यको सम्पत्ति आफ्नै सम्पत्ति भनेर बुझ्न सकेनन् । एक एक गर्दै देशभरि निर्माण भएका निर्दोष सयौँ संरचनामाथि तोडफोड हुन सुरु भयो । एक–एक गरी सबै संरचनामा आगो लाग्न थाले । ती संरचनाभित्र भएका हाम्रै महत्वपूर्ण कागजात दनदनी बल्दै गए, सबै ध्वस्त भए, सबै खरानी भए । आँखै अगाडि प्रदेश सभा दनदनी हुँदा म मुकदर्शक भएँ । मात्र आँसु झार्न सकेँ केही गर्न सकिन ।
हाम्रो १२२ वर्षे इतिहास सिंहदरबार जल्यो । देशैभरिका भाटभटेनी जलेर खरानी भए, जहाँ हामी नेपालीले नै रोजगारी पाएका थियौँ । २५ गतेको घटनाले कति नेपाली रोजगार गुम्यो । आफ्नो जीविकोपार्जन चलाउने माध्यम हामी आफैँले खरानी बनायौँ । देशका बैँक लुटिए, रवि सँगसँगै सयौँ हत्यारा र बलात्कारीलाई भगाइयो । सबै भन्दा दुःखको कुरा समग्र देशको इतिहास मेटियो । २३ र २४ गते नेपालका लागि कालो दिन भयो । देशलाई यो अवस्थामा ल्याउने को हो ? राम्रोलाई होइन हाम्रोलाई रोज्ने को हो ? भत्केका, जलाइएका संरचना फेरि पुनः निर्माण गर्ने को हो ? नेपाल आमालाई रुवाउने को हो ? जितेर पनि हार्ने को हो ? देशले नयाँ नेतृत्व कहिले पाउने ? कसको संरक्षणमा देश रहने ? देशले भ्रष्ट्राचार, अनिमितता र कुशासनबाट मुक्ति पाउला कि नपाउला ? प्रश्नै प्रश्नले, मानसिक तनावले, छट्पटाइले कसरी दिन र रात बिताउने ? प्रत्येक नेपालीलाई यो अवस्थामा पुर्याउने को हो ?
